राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले जनादेशबाट बनेको प्रदेश २ को सरकार नछाड्ने बताएको छ।
राजपा अध्यक्ष मण्डलको बिहीबारको बैठकले राजकिशोर यादवले जनादेशबाट बनेको प्रदेश २ को सरकार कुनै पनि हालतमा नछाड्ने निर्णय गरेको हो।
‘प्रदेश २ को सरकार ‘टेक्निकल्ली’ बनेको होइन। जनताको जनादेशबाट बनेको हो,’अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने, ‘फोरम आत्मसमर्पण गरेर सरकारमा गयो भन्दैमा हामी प्रदेश २ को सरकारबाट फिर्ता हुँदैनौं।’
राजपाले लालबाबु राउतको सरकारविरूद्ध कुनै पनि प्रकारका टिप्पणी नगर्न नेता/कार्यकर्तालाई निर्देशन पनि दिएको छ।
राजपा नेता मनिष सुमनले बुधबार एक कार्यक्रममा मधेश आन्दोलनको भावना विपरीत संघीय समाजवादी फोरम नेपाल सरकारमा गएको भन्दै प्रदेश २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका थिए।
गत जेठ १४ गते दुई बुँदे सहमति गर्दै संघीय समाजवादी फोरम केपी ओली शर्मा नेतृत्वको सरकारमा सहभागी भएपछि राजपाले प्रदेश २ को सरकार छाड्ने विषयमा चर्चा हुन थालेको हो।