कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको संसद् वैठक अवरुद्ध गरेको छ। सरकार तथा संसदका काम–कारवाहीप्रति चित्त नबुझेको भन्दै संसद वैठक अवरुद्ध पारेपछि कर्णाली प्रदेशको बिहीबारको संसद बैठक स्थगित गरिएको छ।
संसदको दोस्रो अधिवेशनको नवौं बैठकको सुरुमै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट पारित भएको डेढ महिना पुग्न लाग्दा पनि सांसदलाई रातो किताब उपलब्ध नगराएको, कर्णाली–रारा पर्यटन वर्षको हिसाव–किताव सार्वजनिक नगरेको, संसद आफू खुशी चलेकोलगायतका आरोप लगाए।
‘राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन जाने कर्णालीका खेलाडीहरुलाई आवश्यक पोशाक उपलब्ध नगराउँदा राष्ट्रिय रुपमै कर्णालीको बेइज्जत भयो’ सांसद् शाहीले भने –‘यस्ता विषयलाई चुपचाप सहेर बस्न सकिँदैन्।’
चालू आर्थिक वर्षको तीन महिनाका लागि सरकारले नीति तथा कार्यक्रमसहित बजेट ल्याए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनले आलोचना गरेका छन्। बजेटलगत्तै रातो किताब दिने भनिएको भएपछि हालसम्म उपलब्ध नगराईनु, केही मन्त्रीहरु आफूखुसी योजना छनौट गरेर बजेट बाँड्दै हिँडेको जस्ता कार्यले संसद् र सांसदहरुको अपमान भएको उनको भनाई छ।
प्रदेश सरकारले शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो।
कांग्रेस संसदीय दलका नेता शाहीले यस अघिकै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सरकारले चासो नदिएकाले नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता नभएको टिप्पणी गरे।
कांग्रेसको अवरोधपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका थिए। संसद बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपनि कुनै निर्णय हुन सकेन् ।
संसद् वैठक शुक्रबार दिउँसो तीन बजेसम्मका स्थगित भएको छ ।