शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश नम्बर ५ को सरकारले प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको छ ।
प्रदेश प्रमुख उमाकान्त झाले शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रदेश प्रमुख झाले नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका १२ वटै जिल्लाको समान र सन्तुलित विकास गरी ५ नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउने बताए ।
बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति कार्यक्रम पारित गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले एक वर्ष भित्रमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने, न्युन आय भएका महिलालाई २ बच्चा सम्मका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराउने र ८४ वर्ष पुगेका जेष्ठ नागरीकलाई घरमा नै स्वास्थ्य सुबिधा उपलब्ध गराउने नीति लिएको छ ।
त्यस्तै एक गाउँ एक उत्पादन र एक पालिका एक शीत भण्डार निर्माण गर्ने, कृषि तथा पशुपंक्षीजन्य रोग, किरा र महामारी नियन्त्रण गर्न आवश्यक पूर्व तयारीको प्रबन्ध गरिने नीति लिएको छ ।
प्रदेश सरकारले लुम्बिनी सहित बुद्ध जन्मस्थललाई समेटी एकीकृत पर्यटन विकास गर्ने, भैरहवा, परासी, चन्द्रौटा, कृष्णनगर र दागमा औद्योगिक कोरीडोर स्थापना गर्ने र नेपालगञ्जलाई प्रदेशको औद्योगिक राजधानी बनाउने नीति लिएको छ ।