प्रदेश नम्बर ४ ले आगामी आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ। शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने लक्ष्य प्रस्तुत गरे।
आगामी वर्ष भौतिक पूर्वाधारलाई जोड दिने गरी कार्यक्रम तय भएका छन् ।
प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय बृद्धी गर्ने घोषणा गरेको छ। ५ वर्ष भित्र गरिबी ७ प्रतिशतमा झार्ने महत्वकांक्षी योजना अघि सारेको छ। यसका लागि प्रदेश भित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना छ।
कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको द्रूतमार्ग निर्माणको योजनालाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ।
प्रदेश भित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय खेलमैदान, विशिष्टिकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीयतहमा २५ शैय्या, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शैयाको अस्पताल निर्माण थालनी गर्ने योजना छ।
पोखरालाई केन्द्रमा राखी बृहत पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने, सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सञ्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीयतहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्ने, ऊर्जा उत्पादन तेब्बर बनाउने, ऊर्जा खपतलाई पाँच गुणाले बढाउने लगायतका योजनालाई विशेष प्राथमिकताका साथ अघि सारिएको छ।
अधिकांश नीति तथा कार्यक्रमहरु अघिल्लो पटकै दोहोरिएका छन् भने केही चाहीँ संशोधन गरिएका छन्। सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाईने नीति तथा कार्यक्रममा समावेस छ।
१ सय ६२ बुँदे नीति तथा कार्यक्रममा प्रदेश ४ को विकास र समृद्धिमा जोड दिएको छ। प्रदेश सरकारले यो आर्थिक वर्षलाई कानुन तर्जुमा र प्रादेशिक संरचना बर्ष र आगामी वर्षलाई प्रदेशिक संरचना निर्माण वर्षको रुपमा कार्यान्वयन गरिने उल्लेख छ।
प्रदेशको नीति तयार गर्दा सामाजिक न्याय, लैगिंक समानता, समानुपातिक समाबेशीकरण, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई पनि नीति तथा कार्यक्रम मार्फत प्राथमिकता दिइएको छ।