कर्णाली प्रदेश सरकारले शुरु गरेको ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा करिब ६३ लाख रुपैयाँ खर्च भएको छ । २०७५ वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गरेका थिए । उद्घाटनमा ६३ लाख ८१ हजार ७९५ रुपैयाँ खर्च लागेको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
शुक्रबार कर्णाली प्रदेशको दोस्रो अधिवेशनको दशौँ वैठकमा सांसद्हरुले उक्त विषयमा उठाएका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षका लागि भएको खर्चमा अनियमितता नभएको स्पष्ट पारे।
पर्यटन वर्षको उद्घाटनका लागि प्रचारात्मक झोला निर्माणमा २ लाख, खाना तथा खाजा खर्च १७ लाख ४६ हजार १२०, विभिन्न खालका उपहारमा ५५ लाख ५४ हजार १०३, पत्रकारहरुका लागि आवत/जावतमा ६४ हजार ९७० रुपैयाँ खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए।
त्यसैगरि, प्रचार/प्रसारतर्फ ६ लाख ५० हजार २२, हवाई भाडा १० लाख २९ हजार ३००, स्थगलगत अनुगमनका लागि यातायात खर्च ७६ हजार, अन्य व्यवस्थापनमा ११ लाख ५० हजार २००, आवासतर्फ ४ लाख ६२ हजार ४६८, विभिन्न खालको तयारीमा २ लाख रुपैयाँ खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए ।
उनका अनुसार भएको खर्चमध्ये १४ लाख ४० हजार रुपैयाँ पर्यटन बोर्डबाट सहयोग प्राप्त भएको छ भने कर्णाली प्रदेश सरकारको ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको छ।
दोषीमाथि कारबाहीको माग
यही जेठ १९ गते कालिकोटमा दलित महिलाबाट निर्वाचित वडा सदस्यको मृत्युको बारेमा छानविन गरि दोषीमाथि कारबाही गर्न कर्णाली प्रदेश सभाका सदस्यहरुले माग गरेको छन् । शुक्रबार बसेको प्रदेश सभाको वैठकमा बोल्ने प्रदेश सभा सदस्यहरुले कालिकोटमा भएको उक्त घटनाको बारेमा छानविन गरि पिडकलाई उचित कारबाही तथा पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
धारो छोएको आरोपमा यही जेठ १९ गते गैर दलित महिलाहरुले कुटपिट गरी नरहरिनाथ गाउँपालिका–९ निवासी वडा सदस्य ४२ वर्षीया मना सार्कीको हत्या गरेका थिए । शनिबार साँझ धारामा पानी लिन गएकी सार्कीलाई उनकै छिमेकी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजन शाहीले कुटपिट गरेका थिए । मन सार्कीको सोही राति मृत्यु भएको थियो।