नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी केन्द्र मिलेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएका छन्।
बाहिर ठूलो देखिने नेकपा भित्रभित्रै खोक्रिसकेको भट्टराईले दाबी गरे।
`पुराना शक्ति भित्रभित्रै खोक्रिसके। बोक्रा राम्रो देखिने ठूलो फर्सी फुटाएर हेरेपछि मात्रै थाहा हुन्छ फ्यात्त कुहिएको। नेकपा पनि त्यस्तै कुहिएको फर्सी हो,´ उनले भने।
नेकपा खोक्रो छ भन्ने पुष्टि हुन केही समय पर्खन उनले आग्रह गरे।
`पञ्चायतकालमा मण्डलेको दबदबा थियो, त्यतिबेला बुढापाका भन्थे पञ्चायत कहिल्यै जाँदैन। आन्दोलनबाट पञ्चायत ढल्यो´,उनले भने, ‘अहिले सत्ताको पहाडले हामीलाई थिचेजस्तो भएको छ, तर यो धेरै वर्ष टिक्दैन।´
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टको खोलमात्रै ओढेको उनले बताए। सत्ताका चतुर खेलाडी प्रचण्डले माओवादी अभियानलाई एमालेमा मिसाएको उनले आरोप लगाए।
नयाँ शक्ति गोरखा-काठमाडौं सम्पर्क संयन्त्रले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रम भट्टराई कांग्रेसप्रति पनि खनिए।
‘नेपाली कांग्रेस दिशाविहीन भयो, विपी भजाएर खाने काम मात्रै गरेको छ’, उनले भने, ‘हिजोका कांग्रेस र कम्युनिष्ट ब्राण्ड अब पुराना भइसके। हामीले तेस्रो नयाँ धार निर्माण गर्नुपर्छ।’
नेकपा र कांग्रेससँग पार्टी एकता हुन नसक्ने भट्टराईले बताए। नयाँ समाजवादी केन्द्र बनाउने सर्तमा यसअघि ओली र प्रचण्डसँग छलफल भए पनि उनीहरूले कम्युनिष्टको खोल ओढेपछि आफू पछि हटेको उनको भनाइ छ।
भट्टराईले नेपालमा सम्वृद्धि ल्याएर मात्रै मर्ने बताए।
‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने मेरो सोच छ। तर नयाँ पुस्ता साह्रै सतही भए। हल्का टिप्पणीमा रमाउँछन्। अध्ययन नगर्ने प्रवृत्ति छ’, उनले भने,‘माथिर ९२ वर्षमा नेतृत्वमा फर्किए। म पनि नमरुञ्जेल सम्वृद्धि ल्याउन लडिरहन्छु।’
वैज्ञानिक र युग सुहाउँदो विचार दिनसक्ने मानिस उमेरले बुढो भए पनि विचारमा युवा नै हुने बताउँदै आफू युवा नै भएको उनले जिकिर गरे।
उनले निराशा र कुण्ठा नबोक्न कार्यकर्तालाई आग्रहसमेत गरे।