प्रदेश नम्बर ४ प्रदेश सभामा नेपाली कांग्रेसले अवरोध गरेको छ।
पहिलो टेबुल भएका विधेयक र प्रस्तावहरू छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले अवरोध गरेको हो।
कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै अगाडि बैठक चलाउन आग्रह गरेको हो। गएको चैत १२ गते गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ।
तर नियतवश नामका विषयमा छलफल नचलाइएको भन्दै कांग्रेसले आइतबारको बैठकमा अवरोध गरेको हो। कांग्रेसले सभामै नाराबाजी समेत गरेको छ । प्रदेशको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद स्थगित गरिएको छ।
२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरू भएको थियो। बैठकको सुरूमै कांग्रेसका सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुखले बोल्ने समय दिएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए।