पेट्रोलियम पदार्थ तथा खाद्यान्न (दाल, चामल, चिनी) लगायतमा भएको मूल्यवृद्धि विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामा सडक संघर्षमा उत्रिएकी छन्।
अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी लामा वर्तमान सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताउँछिन्।
‘पहिले म सडकमा थिइनँ, संसदमा थिएँ। बजेटको बेला थियो। पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएको हो' सांसद लामाले सेतोपाटीसँग भनिन्, 'मुल्यवृद्धि नियन्त्रण नगरेर सरकार के हेरेर बसेको छ।'
संयुक्त विद्यार्थी संगठनले मंगलबार राजधानीको शान्ति बाटिकामा गरेको सडक बहस कार्यक्रममा बोल्दै लामाले जनजिविका, राष्ट्रियता, शैक्षिक मुद्दा, आम विद्यार्थीको हक र अधिकारको विषयमा विद्यार्थीहरू प्रतिपक्षीको भूमिकामा रहँदै सडकबाटै संघर्ष गर्दै आएको बताइन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जारी राखेको मूल्यवृद्धिको आन्दोलनलाई सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले पनि साथ दिएको हो? भन्ने प्रश्नमा लामाले भनिन्, 'सबै साथसाथै मिलेर आन्दोलनमा छौं, आपुर्ति मन्त्रीलाई डेलिकेसन दिन जाँदा सबै विद्यार्थी संगठनसँगै गएको हो, विज्ञप्ति पनि संयुक्त निकालेको हो। नेविसंघले एक्लाएक्लै मसाल बालेको मात्रै हो।'
लोकतन्त्र विरोधी शक्तिहरूले आफू विद्यार्थी आन्दोलनको पक्षमा नरहेको भन्ने गलत प्रचार गरेकोमा उनले आपत्ति जनाइन्।
'आन्दोलनको रूप बदल्नुपर्छ। अराजकतातिर वा हिंसात्मक बनाउनेतिर हामी लाग्नु हुँदैन' उनले भनिन्, 'सिर्जनात्मक र दबाबपूर्ण आन्दोलन आवश्यक छ।'
सरकारले पेट्रोलियम पदार्थका साथै चामल र तरकारीमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको उनले बताइन्।
'मुलुकमा दलालीकरण, भ्रष्टाचार र कालोबजारी छ यसको भण्डाफोर गर्नुपर्छ' लामाले भनिन्, 'भ्रष्टाचारीलाई ठेगान लगाउन विद्यार्थी आन्दोलन औचित्यपूर्ण छ।'
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पाँचौं पटक पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघले राँके, सिठ्ठी जुलुस तथा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता आन्दोलन गर्दै आएको छ।
सरकारले भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेपालमा पनि त्यसको असर परेको बताउने गरेको छ।