आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशको बजेट बरिब २३ अर्बको आउने भएको छ। असार १ गते संसद्मा प्रस्तुत गरिने बजेटको सबै तयारी पूरा भैसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
आर्थिक बर्ष २०७५/०७६ को बजेटमा संघीय सरकारको अनुदान ९ अर्ब १३ करोड, सःसर्त अनुदान ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँडतर्फ ५ अर्ब ५७ करोड, चालू आर्थिक बर्षको खर्च हुन नसकेको करिब ५० करोड गरि २३ अर्ब बराबरको बजेट तयार पारिएको मन्त्रालयले जनाएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट खर्च गर्न विभिन्न शीर्षक बनाएर सानो रकममा खर्च गर्ने प्रवृत्ति अन्त्य गरिने बताएका छन्। बजेटबाट नमुनायोग्य काम बनोस भनेर महत्वपूर्ण योजनाहरुमा बजेट केन्द्रित गरिने भन्दै मन्त्री ज्वालाले दिगो खालका विकासका काममा लगानी गर्ने बताए। जनताको आयआर्जनमा सहजता ल्याउने खालका कार्यमा बजेट खर्च गरिने उनले बताए।
पूँजिगत खर्च बढाउने उल्लेख गर्दै मन्त्री ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू खर्च नियन्त्रणमा जोड् दिइरहेको जानकारी दिए। अबको बजेटबाट असारे विकास बन्द गरिने पनि उनले बताएका छन्। अबको बजेटको विशेषता मितव्ययिता हुने उनले विश्वास व्यक्त गरे।
अहिलेको बजेट सरकारले सोचे अनुसार ठूलो आकारको नभएको मन्त्री प्रकाश ज्वालाले बताए। राजस्व संकलन क्षेत्र साँघुरो, अवस्था कमजोर, आन्तरिक स्रोतको कमीलगायतका कारण प्रदेश सरकार संघीय सरकारको समानीकरण अनुदानमा भर पर्ने उनले बताए।
अब यसपछिका बर्षहरुको बजेट ठूलो आकारको बनाईने मन्त्री ज्वालाले बताए। सम्भावित स्रोतहरुलाई आधार बनाएर यसपछिका बजेट ठूलो आकारमा ल्याउने उनले बताए।