‘समृद्ध प्रदेश खुसी जनता’ नारा सहित प्रदेश नं. ५ सरकारले शुक्रबार २८ अर्ब ९ करोड ३ लाखको बजेट प्रस्तुत गरेको छ।
अर्थ मन्त्रीको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे प्रदेशसभामा चालु खर्च तर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्व ६२ करोड ४३ लाख ९८ हजारको बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटको चालु खर्चतर्फ ४० दशमलव ८० प्रतिशत र पूँजिगत तर्फ ५९ दशमलव २० प्रतिशत छ। कुल विनियोजित रकममा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ९ अर्व ६७ करोड ३ लाख समेत समावेश छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख, राजस्व बांँडफांँड ८ अर्ब ५५ करोड ३ लाख, सशर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख, प्रदेशको आन्तरिक राजस्व २ अर्ब ४० करोड र आर्थिकवर्ष २०७४/७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम ६० करोडबाट व्यहोरिने गरी मुख्यमन्त्री पोखरेलले बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले भौतिक पूर्वाधार समृद्धिको आधार नारासहित भौतिक पूर्वाधारलाई बजेटमा पहिलो प्राथमिकता दिएको छ। त्यसैगरी आर्थिक विकासको लागि कृषि र पर्यटन, दक्ष जनशक्ति विकासको लागि सामाजिक क्षेत्रमा लगानी, गरिबी निवारणको लागि शशक्तिकरण, शासकिय प्रवद्र्धन, अध्ययन अनुसन्धान, सूचना, तथ्यांक संकलन लगायतलाई बजेटले प्राथमिकता दिएको छ।
स्थानीय तहको शिक्षा स्वास्थ्य खानेपानी जस्ता पूर्वाधार निर्माणको लागि ५० करोड, शशर्त अनुदान तर्फ १ अर्ब र आफैले छनोट गर्ने योजनाको लागि ५० करोड बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले पाल्पा रामपुर सडक, रोल्पा सडकको लागि ५ करोड विनियोजन गरेको छ। ३२ वटा पालिकालाई केन्द्रसँग जोड्ने सडकको लागि ५० करोड बजेट विनियोजन गरेको छ। प्रदेशभरी १२ वटा झोलुङगे पुल र २१ वटा पुल निर्माणको लागि ५० करोड विनियोजन गरेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकको बैकल्पिक मार्गको रुपमा चरङगे झुम्सा बैकल्पिक मार्गका लागि १० करोड विनियोजन गरेको छ।
बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनको लागि पनि बजेट विनियोजन गरिएको छ ।
२९ वटा मझौला सिंचाई आयोजनाको लागि १५ करोड, साना सिंचाई आयोजनाको लागि २४ करोड ७१ लाख, नदि नियन्त्रणको लागि २१ करोड, खानेपानीको श्रोत सुधारको लागि २३ करोड ४५ लाख, जीतगढी किल्लाका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।
पाल्पा दरबारलाई प्रादेशिक संग्रहालय बनाउने गरि बजेटमा व्यवस्था गरिएको छ। पाल्पाको श्रीनगर, बर्दियाको ठाकुराद्धारामा सांस्कृतिक डबली निर्माण गर्न २ करोडको दरले बजेट विनियोजन गरिएको छ।
प्राकृतिक प्रकोप प्रभावितलाई तत्काल राहत दिन प्रदेश विपत कोष निर्माण, दाङ र बुटवलमा रंगशाला र लमहीमा क्रिकेट रंगशालाको लागि बजेट विनियोजन गरिएको छ।
भैरहवा—बुटवल, नेपालगञ्ज— कोहलपुर, तुलसीपुर—घोराहीको एकीकृत विकास गरी महानगर प्राधिकरण बनाउन बजेटमा व्यवस्था गरिएको छ । सञ्चारमैत्री सरकार, विकासमैत्री सञ्चार सरकारको नीति अवलम्वन गर्दै विद्युतीय र छापा सञ्चार माध्यमसँग सहकार्य गर्ने र सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरिएको छ।
त्यस्तै कृषितर्फ प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा स्मार्ट भिलेज, १२ जिल्लामा सहकारी बजार निर्माण गर्ने गरी रकम विनियोजन भएको छ । कृषि क्षेत्रको विकासका लागि सहकारी विकास कोष, कृषि विकास कोष, भूमिहीन किसानका लागि करारमा जग्गा व्यवस्थापन गरेर अनुदान दिने कार्यक्रम समेटिएका छन् । किसानका लागि ट्याक्टर, चिलिङ भ्याट, बोका वितरण पनि प्राथमिकतामा छ।
मानव सूचकांकमा पछाडि परेका ३५ स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि १२ करोड रकम विनियोजन गरिएको छ।
हेर्नुहोस् बजेटको पूर्णपाठ