कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई शान्ति सुरक्षामा नमुना प्रदेश बनाउने बताएका छन्।
प्रदेशको शान्ति सुरक्षा बलियो बनाउन सबै लाग्नुपर्ने भन्दै उनले विकास र समृद्धिका लागि प्रदेश सरकार लागि परेको बताए । कर्णाली प्रदेश स्तरीय एक दिवसीय ट्राफिक प्रहरी सम्मेलनलाई सम्बोधन गर्नेक्रममा मन्त्री भण्डारीले कर्णाली प्रदेशमा सबै भन्दा बढी शान्ति सुरक्षा कायम गर्न सारकार केन्द्रित रहेको बताए ।
कर्णाली प्रदेशका सडकहरु मृत्यु मार्गका नामले चिनिने गरेकोमा अब सबैको सहयोगबाट सुरक्षित राजमार्गका रुपमा परिचित गराउनुपर्ने भन्दै मन्त्री भण्डारीले सडक दुर्घटना कम गर्नका लागि सरोकारवाला लाग्नुपर्नेमा जोड् दिए । उनले कर्णालीमा सडक आवागमनलाई सरल र सहज बनाउने समेत उद्घोष गरेका छन् ।
सम्मेलनमा बोल्दै प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख प्रहरी नायव निरीक्षक सुरेशविक्रम शाहले सडक दुर्घटनमा मानवीय लापरवाही, साधनको अवस्था कमजोर र सडक निर्माण मापदण्डविपरित मुख्य कारण भएको बताए । उनका अनुसार नेपालमा बार्षिक २ हजार मानिसको सडक दुर्घटनामा परि मृत्यु हुने गरेको छ । सडक दुर्घटनामा वार्षिक १ हजार ३०० मानिस घाईते हुने गरेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सडकलाई विकासको मुल आधार मानेर मुलुकमा धेरै सडक निर्माण भईरहेको भन्दै सडक सुरक्षित यातायात हिसाबले निकै कमजोर देखिएको बताए । सडक दुर्घटना न्यूनिकरण गर्न कानून, नियम बनेको भएतापनि त्यसको राम्रोसंग पालना नहुँदा दुर्घटना न्यूनिकरण हुन नसकेको बताए ।
यस्तै, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सडक दुर्घटनाको समस्या मानिसले आफै निम्त्याएको भन्दै त्यसमा सबै सचेत हुनुपर्ने बताए । नीतिगत कुराले समेत सडकको डिजाईनमा समस्या हुने गरेकोले मापदण्ड विपरित बन्ने सडकहरुका कारण पनि दुर्घटना हुने गरेको बताए।
न्यूनिकरणमा स्थानीय तहको पनि प्रतिबद्धता
लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले जिम्मेवार पक्षबाटै भएको कमिकमजोरीले सडक दुर्घटना निम्तिने भन्दै सबै सचेत हुनुपर्ने औँल्याए । कानून बनाएर मात्र दुर्घटना न्यूनिकरण नहुने भन्दै उनले कार्यान्वयन पक्षमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड् दिए ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले सडक दुर्घटनासंग सम्बन्धित सबै सरोकारवाला पक्षको सहयोगमा मात्र सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिने बताए । स्थानीय निकायको तर्फबाट गाउँ÷समाजमा सडक दुर्घटनाका बारेमा सचेतना फैलाउने कार्यमा लाग्ने प्रतिबद्धता समेत उनले जनाए ।