नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेसलाई तर्साउनु नहुने बताएका छन्।
शुक्रबार रौतहटमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले धेरै तर्सायो भने कांग्रेसको सातो जाने बताए।
‘धेरै तर्साउनु हुन्न कांग्रेसको सातो जाला र फेरि सातो गयो भने उपचार गराउनु पर्ला त्यसैले सरकारले कांग्रेसप्रति अहिले हेयको दृष्टि राख्नु हुन्न,’ नेपालले भने।
नेता नेपालले कांग्रेस त्यतिकै आत्तिन नहुने भन्दै राम्रो कामका लागि शुभकामनासमेत दिएका छन्।
‘अहिले कुराभन्दा काम गरेर देखाउनुपर्छ। अब बजेट बनिसक्यो,’ उनले भने, ‘त्रूटिहरू सुधार्दै जानुपर्छ। अन्य पार्टीबाट आएको सुझावलाई समेटेर अघि बढ्नुपर्छ।’
प्रदेशको बजेटले सिंगो प्रदेशको विकास हुने भन्दै उनले अब कसैले नक्कली कागज बनाएर विकासको रकम हिनामिना गर्न नसक्ने दाबी गरे।
कार्यक्रममा उनले कुनै बिदेशीको बिरोध गर्न नहुने बताए। भारत चीन जस्ता छिमेकी देशसँग मित्रता कायम राख्नुपर्ने उनको भनाई थियो। ‘हामी सबै देशसँग मित्रता चाहान्छौ र नेपालको भलो चाहान्छ,’ उनले भने।
उनले कम्युनिष्ट सरकारको दुई तिहाई पुग्यो भनेर दुई तिहाईको दम्भ राख्न नहुने तर्क गरे। ‘बहुमतको दम्भ भन्दा पनि सबै पार्टीलाई साथ र सहयोग लिएर अघि बढ्नुपर्छ। फुटेर होइन जुटेर जानुपर्छ,’ उनले भने, ‘भर्खरै पहिलाको माओवादी र पहिलेको एमाले मिलेर एउटै पार्टी भएको छ।’