प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबार बसेको प्रदेश नंं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ।
सोमबार दिउँसो १ बजे बसेको बैठकमा बोल्दै कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट एकलौटी र असमान भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सबै सांसदले आ–आफ्नो कुर्चिबाट उठेर विरोध जनाएका थिए ।
सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडी बढाउन पटक पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक बहिस्कार गरी बाहिरिएका थिए ।
सांसद चौधरीले आफूहरुले उठाएका मागहरू प्रति प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले सरकारले कतै खाली त कतै धेरै बजेट छुट्टयाएको भन्दै यसले प्रदेशको विकास हुन नसक्ने बताए। सबै क्षेत्रलाई समान रुपमा नहेरि ल्याईएको बजेट आफूहरुलाई स्वीकार्य नहुने बताए।
सोमबार सरकारले प्रस्तुत गरेको बजेट माथि छलफल, प्रदेशसभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा नियमावली माथी छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो।
तर सांसदहरुको अवरोधका कारण २० मिनेटको लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकेपछि मंगलबारको लागि बैठक बस्ने गरी सूचना जारी गरिएको छ।
प्रदेशसभा सचिव डा. मान बहादुर वीकेले विशेष कारणवश सोमबारको बैठक बस्न नसक्ने भएकाले अर्को बैठक मंगलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशन गरिएको जानकारी दिए।
प्रदेश पाँचमा सांसदहरुको अवरोधका कारण बैठक स्थगित भएको यो पहिलो पटक हो ।