देशभरका नगरपालिकाहरुमा लगातार पाँचपटकसम्म उत्कृष्ट बन्दै आएको बुटवल उपमहानगरपालिकाले अत्याधुनिक भवन निर्माणको प्रकृया शुरु गरेको छ।
पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले शुक्रबार शिलान्यास गरेका छन्।
भवनको शिलान्यास गर्दै पौडेलले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न आग्रह गरे। आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उनले निर्माण कार्यहरूमा उपमहानगरवासीको पनि निगरानी र खबरदारी जरुरी रहेको बताए।
सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने पौडेलको सुझाव थियो। लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उनले बताए। अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको उनले दाबी गरे।
बुटवल उपमहानगरपालिकाले हाल कार्यालय रहेको दक्षिणतर्फको तिलोत्तमा पार्क सहितको करिब तीन विगाहा जग्गामा गुरूयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरू गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्प अनुसार आफूहरू आवधिक र दीर्घकालिन महत्वका काममा केन्द्रीत रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसँग हातेमालो गरिने बताए।
प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीका अनुसार हाल भवन रहेका समेतको जग्गामा प्रमुख प्रशासनिक सहित अरू ६ वटा भवन निर्माण गर्ने गरि गुरुयोजना बनाईएको छ।
शुक्रबार शिलान्यास भएको भवन प्रमुख अर्थात ‘ए’ ब्लक हो । ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा लागत अनुमान गरिएको भवनमा बेसमेनसहित चार तलाको हुने योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।
निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ४ पैसामा आगामी ०७ असारमा सक्ने गरी असार ६ गते ठेक्का सम्झौता भईसकेको छ।
अन्डरग्राउण्ड सहितको उक्त भवनमा एकसय बढि मोटरसाइकल र ३५ वटा कार पार्किङ गर्न सकिने छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटै सिंढीहरु रहने ईन्जिनियर गौतम रौनियारले बताए ।
विसं. २०१६ सालमा स्थापना भएको तत्कालिन बुटवल नगरपालिकाको हालको मुल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवनहरु प्रायः जीर्ण र २०७२ सालको भूकम्पले चर्किएको अवस्थामा छन् ।
यसैबीच बुटवल उपमहानगरपालिकाले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका बुटवलका तीन जना नागरिक अगुवाहरुलाई सम्मान गरेको छ ।
टिकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेललाई नगद जनही ५१ हजार रुपैयां सहित सम्मान गरिएको थियो ।
सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुन् । यस्तै न्यौपाने प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना कांग्रेसका नेता हुन् ।
अर्की अगुवा महिला पौडेल विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय र हाल द्वन्द्वप्रभावित नेतृ हुन् ।
ज्येष्ठ नागरिकहरुको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।