‘सुन्दर बुटवल, समृद्ध बुटवलः खुसी बुटवलबासी’ नाराका साथ बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ६६ करोड ५० लाख रुपैंयाँको बजेट प्रस्तुत गरेको छ। तेस्रो नगरसभाको आईतबारको बैठकमा बजेट प्रस्तुत भएको हो।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आर्थिकवर्ष २०७५/०७६ का लागि एक अर्ब ६६ करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
बजेट प्रस्तुत गर्दै उपप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई बजेटले प्राथमिकता दिएको बताईन्।
उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो । पर्यटन, कृषि, उद्योग, व्यापार व्यवसायलाई बुटवलको समृद्धिको आधारका रुपमा लिँदै उपमहानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक वर्ष २०७४/७५ को भन्दा झण्डै २७ करोड बढीको बजेट प्रस्तुत गरिएको हो। आर्थिक वर्ष २०७४/७५ मा बुटवल उपमहानगरपालिकाले एक अर्ब ३९ करोड ६३ लाख १५ हजार रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
बजेटमा चालू खर्च तर्फ रु २२ करोड ३० लाख १७ हजार, सामाजिक सुरक्षा भत्ता १५ करोड, चालु आर्थिकवर्षमा सम्पन्न हुन नसकी आगामी आर्थिक वर्षमा सरी जाने योजना तथा सम्पूरक कोषहरुका लागि ४७ करोड ८९ लाख विनियोजन भएको छ ।
यस्तै नगर स्तरीय कार्यक्रम पूँजीगत तथा पूर्वाधार निर्माणका योजनाहरुमा २३ करोड ७७ लाख १४ हजार आठ सय ३१ रुपैयाँ विनियोजन भएको छ ।
उपमहानगरले शिक्षा विकास कार्यक्रम अन्तर्गत २५ करोड ४९ लाख ७० हजार विनियोजन भएको छ भने कृषि विकास कार्यक्रम अन्तर्गत ९३ लाख ९७ हजार रुपैयाँ विनियोजन भएको छ।
पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत एक करोड आठ लाख ७६ हजार विनियोजन भएको छ।
महिला विकास कार्यक्रमका लागि उपमहानगरले एक करोड ३८ लाख ३७ हजार विनियोजन गरेको छ ।
वडा सिलिङ बमोजिम आएका वडा स्तरीय योजनाहरुका लागि १५ करोड विनियोजन गरेको छ । यसैगरी मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना तर्फ चार करोड ९ लाख ६० हजार विनियोजन भएको छ । प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत चार करोड २८ लाख ९२ हजार विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ का लागि आन्तरिक स्रोतबाट ४४ करोड ३८ लाख ६० हजार आठ सय ३१ रुपैयाँ संघीय सरकारबाट अनुदान ८५ करोड ४८ लाख ८९ हजार, प्रदेश सरकारबाट चार करोड ४२ लाख ६७ हजार, उपभोक्ता लागत सहभागिता पाँच करोड, अन्य अनुदान तथा ऋणबाट आठ करोड ७० लाख, विभिन्न क्षेत्रबाट अपेक्षित ११ करोड, मझौला शहर एकीकृतबाट चार करोड र बैंक अ.ल्या.बाट तीन करोड ५० लाख समेत गरी जम्मा कुल एक अर्ब ६६ करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैयाँ प्रक्षेपण गरेको छ ।