सुर्खेतका नौ वटा स्थानीय तहमध्ये आईतबार ६ वटा स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन्।
५ नगरपालिका र ४ गाउँपालिकामध्ये आईतबार चार नगरपालिका र तीन गाउँपालिकाले सभामा बजेट प्रस्तुत गरेका छन्। तीन स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्र पेश गरे।
आईतबार बजेट प्रस्तुत गरेका सुर्खेतका स्थानीय तहमध्ये सबैले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्।
सुर्खेतका नौ वटा स्थानीय तहको आर्थिक वर्ष २०७५/०७६ का लागि कुल बजेट भने झण्डै ४ अर्ब बराबरको छ।
नगरपालिका र गाउँपालिकाहरुको गरि सुर्खेतका स्थानीय तहको कुल बजेट ३ अर्ब ९३ करोड ८० लाख १७ हजार रुपैयाँ बराबर छ ।
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ९६ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ ६२ करोड, २२ लाख ३९ लाख र पूँजिगततर्फ ३४ करोड ४४ हजार रुपैयाँ छ।
वीरेन्द्रनगरले ल्याएको बजेटमध्ये आन्तरिक स्रोत ७४ लाख ६० हजार रुपैयाँ बराबर तथा बाह्य स्रोत ८६ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको छ।
वीरेन्द्रनगरले भौतिक पूर्वाधारसहितका वडास्तरीय योजना, महिला स्वरोजगार कार्यक्रम, ल्याण्डफिल्ड साईड, विपद् व्यवस्थापन, शिक्षा प्रवद्र्धन कार्यक्रम, नगर स्वास्थ्य प्रवद्र्धन, हरियाली नगरलगायतका योजनाहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले ल्याएको कुल बजेटमध्ये चालू आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट खर्च गर्नेगरि ३ करोड ४८ लाख रुपैयाँ भने घाटा बजेट रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७५/०७६ का लागि पञ्चपुरी नगरपालिकाले ४४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। जसमध्ये चालू खर्चतर्फ २६ करोड ७६ लाख रुपैयाँ छ। पूँजिगततर्फ १८ करोड १५ लाख १७ हजार रुपैयाँ रहको छ।
नगरपालिकाको कुल बजेटमध्ये समानिकरण अनुदान ५ करोड ६५ लाख, सशर्त अनुदान १ करोड ५७ लाख, एलजीसिडीपीअन्तर्गत १४ लाख रुपैयाँ छ।
पञ्चपुरी नगरपालिकाले सडक, खानेपानी, सिचाइँलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सीमानामा रहेको जिल्ला अछाम जोड्ने जनालाघाटसम्म सडक पुर्याउने, स्थानीय तहभित्रको सडक सञ्जालले नछोएको क्षेत्र छाप्रेमा सडक पुर्याउने लक्ष्य पनि नगरपालिकाले बजेटमा समावेश गरेको छ।
लेकवेशी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३८ करोड ५९ लाख ७१ हजार रुपैयाँ बराबरको कुल बजेट ल्याएको छ। जसमध्ये चालू खर्चतर्फ २२ करोड ७६ लाख ३७ हजार ५०० रुपैयाँ छ भने पुँजीगततर्फ १५ करोड ८३ लाख ३३ हजार ५०० रुपैयाँ रहेको छ । उक्त बजेटमध्ये नगरपालिकाको आन्तरिक राजस्वतर्फ ४८ लाख रुपैयाँ रहेको छ ।
लेकवेशी नगरपालिकाले ल्याएको बजेटममध्ये सडक, शिक्षा, कृषि, पशु सेवा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको नगर प्रमुख गगनसिंह सुनारले जानकारी दिए ।
यस्तै, गुर्भाकोट नगरपालिकाले ४६ करोड ३९ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ २५ करोड ८ लाख रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ४३ करोड ८१ लाख ८६ हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये गुर्भाकोटले २१ करोड ३ लाख रुपैयाँ संघीय सरकारबाट सशर्त अनुदान प्राप्त गरेको हो ।
नगरपालिकाले भेरी किनार पर्यटकीय सडक निर्माण, नगरपालिकाभित्रको सडक नपुगेको क्षेत्र धारापानीमा चालू आर्थिक वर्षमा सडक पुर्याउने, छिन्चु–घारीवन–कालिमाटी सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरको छ । उक्त सडकहरुलाई स्थानीय गौरवका आयोजनाका रुपमा समेत राखिएको छ ।
भौतिक पूर्वाधारको विकास भए मात्र अन्य विकास गर्न सजिलो हुने भएकाले बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको नगर प्रमुख हस्त पुनले बताए ।
आर्थिक वर्ष २०७५/०७६ का लागि चिङ्गाड गाउँपालिकाले २५ करोड ९३ लाख ६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसम्धये चालू खर्चतर्फ १६ करोड ८८ लाख ७० हजार रुपैयाँ छ भने पुँजीगततर्फ ९ करोड ४३ लाख ६ हजार रुपैयाँ रहेको छ ।
गाउँपालिकाले ल्याएको कुल बजेटमध्ये ७ लाख ६३ हजार आन्तरिक राजस्व रहेको छ । यस्तै, संघीय सरककारबाट राजस्व बाँडफाँडतर्फ ५ करोड ७८ लाख र सशर्त अनुदान ९ करोड ७८ लाख रुपैयाँ पाएको छ भने प्रदेश सरकारबाट ५२ लाख ४ हजार समानीकरण अनुदान पाएको छ।
चिङ्गाड गाउँपालिकाले स्थानीय तहभित्रको गौरवका आयोजनाहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्र पर्ने धरमपोखरा–अवलचिङ–ढाँडखेत–रानीवास–वाटासाल जोड्ने सडक निर्माण, धरमपोखरा–मटेला सडक स्तरोन्नति, पाम्का–अवलचिङ सडक निर्माण, ३ बर्षभित्र १ घर एक धारा निर्माण, सबै सरकारी कार्यालयहरुमा ई–हाजिरीको व्यवस्था गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको छ ।
यसैगरि, बराहताल गाउँपालिकाले रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि बराहतालले ३७ करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरकको बजेट ल्याएको छ । गाउँपालिकाले चालू आर्थिक बर्षका आयोजनाहरुलाई निरन्तरता दिनेगरि बजेट ल्याएको अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।
सुर्खेतका नौवटा स्थानीय तहहरुमध्ये तीनवटाले भने आईतबार नीति तथा कार्यक्रम मात्र पेश गरेका छन् । जिल्लाका भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकाले आन्तरिक गृहकार्य गर्न वाँकी रहेको भन्दै आज बजेट पेश गरेका छैनन् ।
आन्तरिक तयारी नपुगेका कारण तोकिएको सभामा बजेट प्रस्तुत गर्न नसकिएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिईन् । आफूहरुले अबको केही दिनभित्रै बजेट प्रस्तुत गर्ने उनले बताइन् । उपप्रमुख आचार्यका अनुसार बजेटमा भेरीगंगा नगरपालिकाले पनि भौतिक पूर्वाधारलाई नै पहिलो प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०७४/०७५ का लागि नगरपालिकाले ४० करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । जसमध्ये चालूतर्फ २६ करोड ३० लाख ९ हजार ४८० रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १४ करोड ५५ लाख ३१ हजार ५२० रुपैयाँ रहेको छ ।
अरु स्थानीय तहहरुले बजेटसहित पेश गरेपनि आन्तरिक तयारी नपुगेका कारण आफूहरुले नीति तथा कार्यक्रम मात्र पेश गर्न सकेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । बजेट यही महिनाको १३ या १४ गते पेश गर्नेगरि आन्तरिक गृहकार्य भैरहेको उनले जानकार दिए। बजेटमा भौतिक पूर्वाधार, नागरिकको आर्थिक उन्नति, कृषि उत्पादनलगायतका विषयहरुलाई प्रमुख प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
अध्यक्ष शाहीका अनुसार चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट २९ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको ल्याउने भएको छ । जसमध्ये चालू खर्चतर्फ १८ करोड ४२ लाख ५७ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ११ करोड ३२ लाख रुपैयाँ रहेको छ।
यसैगरी, सिम्ता गाउँपालिकाले पनि आन्तरिक गृहकार्य पूरा नभएको भन्दै आईतबार गाउँसभामा बजेट पेश गर्न सकेन् । आईतबार गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पेश गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याउने कुल बजेट ३४ करो ९१ लाख ४१ हजार रुपैयाँ बराबरकको हुने जनाइएको छ।