कर्णाली प्रदेशको बिहिबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ।
प्रदेश सरकारले ल्याएको बजेट विनियोजनका विषयमा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
विनियोजन विधेयकमाथिको छलफल गर्ने कार्यसूची रहेकोमा सुरूमै प्रतिपक्षी दलका तर्फबाट संसदीय दलका नेता जीवनबहादुर शाहीले भनाइ राखेका थिए।
उनले बजेट वक्तव्यमा किटान गरिएका नामहरू रातो किताबमा नआएको, प्रदेश प्रहरी गठन तथा भौतिक पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट स्पष्ट नभएको, सवारी साधनका लागि सस्तो मूल्यको साधन उल्लेख गरी रकम धेरै विनियोजन गरिएको भन्दै विनियोजित बजेटमाथि टिप्पणी गरे।
यस्तै, शान्ति सुरक्षा अभियानका लागि पनि धेरै रकम छुट्याइएको तर स्पष्ट नभएको, प्रदेश सरकारले छुट्टै सञ्चारमाध्यम सञ्चालन, प्राकृतिक हिमाली चिडियाखाना लालीगुराँस संरक्षणलगायतका विषयमा प्रतिपक्षी दलले आपत्ति जनाएको हो।
विनियोज बजेट स्पष्ट रूपमा किताबमा उल्लेख भएर नआएसम्म संसद् बैठक चल्न नदिने भन्दै प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेको छ।
कर्णाली प्रदेशमा संसद् बैठक अवरुद्ध भएको यो तेस्रो पटक हो।