प्रदेश ५ सरकारले प्राकृतिक प्रकोप र विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले प्राकृतिक प्रकोप र विपद्सम्बन्धी राहत वितरणका लागि मापदण्ड बनाएको हो ।
मन्त्रिपरिषद्को बिहिबारको बैठकले स्वीकृत गरेको राहत वितरण मापदण्ड अनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिका परिवारले एक लाख रुपैयाँ राहत पाउने छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पशु चौपायाको मृत्यु भएमा पनि ५० हजारदेखि एकलाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने बताए ।
यस्तै बाढी, पहिरो, आगलागी वा अन्य कुनै विपत्तिमा घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउने छन् । प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्तिको सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सबै खर्च समेत प्रदेश सरकारले उपलब्ध गराउने छ ।
यस्तै भाडामा बसेको घर नष्ट भएमा प्रति परिवार १० हजार, खाद्यान्न बाली नष्ट भएमा १० हजार र पसल व्यवसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने छन् । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ६ करोडको कोषको व्यवस्था गरेको छ ।
सरकारले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सरकारका मुख्यसचिव शंकर पाठकललाई विशेष पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । उमेर हदबन्दीका कारण बिहिबारदेखि नै अवकास लिँदै गरेका सचिव पाठकलाई प्रदेश सरकारको स्थापना दिवसको अवसरमा फागुन ३ गते पाठकलाई सम्मान गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
बिहिबारकै मन्त्रिपरिषद् बैठकले कानून मस्यौदा सुझाव आयोगका अध्यक्ष र सदस्यहरूको सेवा सुविधा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्य सरह गर्ने निर्णय गरेको छ ।
बैठकले मुख्य न्यायाधीवक्ताको सेवा सुविधासम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।