१५ असारको मेसोमा गोरखा सिरानचोककी मिश्रा कुमालले शुक्रबार खेत रोपाइँ गर्दैछिन्। हलगोरु, हलि, बाहुसे, रोपार खेतमा जुटिसकेका छन्।
यसबीचमा मिश्राको खेतमा नयाँ खेतला थपिए– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई। मानो खाएर मुरी उब्जाउने तरखरमा ब्यस्त भएका आफ्ना मतदातासमेत रहेका किसान लाई सघाउन भट्टराई सिरानचोक गाउँपालिकास्थिन दरौंदी नदी किनार जरेबर फाँट पुगेका हुन्।
भट्टराईले रोपाइँ कार्यक्रमको उद्घाटन गर्दैछन्। १५ असारलाई धान दिवसको रुपमा किसानले मनाउँछन्, खेत रोपाइँसँगै दही र चिउरा खाजा खान्छन्।
भट्टराईले के–के गरे त? यो प्रश्न हामीले नयाँ शक्तिका नेता रोशन पोखरेललाई सोध्यौं।
उनले यसरी बेलिविस्तार लगाए। 'उहाँ (बाबुराम भट्टराई) ले गोरु जोत्नुभयो, खेत हिल्याउनुभयो। बाहुसे गर्नुभयो र धानको बीउ काढ्नुभयो।' टिसर्ट र कट्टु लगाएर भट्टराई खेतमा काम गर्न पुगेका हुन्।
उनले हलोको अनौ र लौरी समातेर गोरु जोतेर केही सियो हिलाए। रोपारसँगै मिलेर बीउ पनि काढे। भट्टराईले खेतमा काम गरिरहँदा अरु रोपार, बाउसेहरु भने मोवाइलमा फोटो तथा भिडियो खिचिरहेका देखिन्थे।
खेत रोप्ने कार्यक्रम सिरानचोक गाउँपालिका र नयाँ शक्ति पार्टी गोरखाको संयुक्त आयोजनामा भएको हो। शुक्रबार भट्टराई गृह जिल्ला गोरखा नै बस्ने कार्यक्रम छ। उनी महिनाको एक पटक आफ्नो निर्वाचन क्षेत्र पुगेर जनताको चासो तथा गुनासो सुन्ने गर्छन्। त्यही कार्यक्रमका लागि उनी राजधानीबाट गोरखा पुगेका हुन्।
भट्टराईका सहयोगीसमेत रहेका नयाँ शक्तिका नेता पोखरेलका अनुसार भट्टराईले डेढ घण्टा खेतमा काम गरेका थिए। 'रोपाइँ ४ बजेसम्म चल्छ त्यसपछि हामी बास बस्न छोप्राक जान्छौं' उनले सेतोपाटीसँग भने, 'मतदाताको घरमा बास बस्ने कार्यक्रम अनुसार जनताको समस्या सुन्छौं।'