धान उत्पादनको हिसाबले एक चौथाई भार बोकेको पाँच नं. प्रदेशमा हर्षोउल्लासका साथ १५ औं राष्ट्रिय धान दिवस मनाईएको छ ।
प्रदेश नम्वर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुपन्देहीको सैनामैना नगरपालिकाको बांसगढीमा १५ औ राष्ट्रिय धान दिवश मनाएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलसहित प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, कृषि क्षेत्रमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुखहरु सहित सयौ जनाको सहभागितामा स्थानीय किसानको खेतमा सामुहिक धान रोपेर दिवस मनाईएको हो ।
घाँटीमा धानको बीउको माला पहिरिएर हिलोमा धान रोप्न खेतमा पुगेका मुख्यमन्त्री पोखरेलले कृषिको माध्यमबाट समग्र प्रदेशको समृद्धिको आधार तय गरेको प्रदेश सरकारले यान्त्रीकरणको लागि बजेटको व्यवस्था गरेको बताए ।
उनले प्रविधिको प्रयोग गरी कृषिलाई व्यवसायीकरण गरेर अघि बढे मात्र किसानले यसबाट लाभ लिन सक्ने बताउदै यान्त्रिकरणका लागि किसानलाई बिशेष अनुदानको व्यवस्था गरिएको बता ।
उनले केही हुदैन भन्ने होइन गरे के हुदैन भन्ने मान्यतालाई अंगिकार गर्दै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गरे । १५ औ राष्ट्रिय धान दिवसका अवसरमा रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका लगायतका सबैजसो स्थानीय तहहरुले आआफ्नै तवरले सामुहिक रोपाई कार्यक्रम गरेका छन्।
***
यता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले अबको पाँच वर्षमा अहिले भएको कृषि उत्पादनलाई दोब्बर बनाउने गरी सरकारले योजना बनाएको बताएका छन् ।
देशका युवाहरु विदेश पलायन हुने र जमिन बाँझो हुने समस्यालाई अन्त्य गर्न सरकारले कृषिमा थुप्रै सहयोग र सहुलियत दिन विभिन्न कार्यक्रम अघि सारेको बताए।
लुम्बिनी विकास कोषले शुक्रबार कपिलवस्तु नगरपालिका वडा नं. ३ तिलौराकोटमा आयोजना गरेको धान दिवसको अवसरमा बोल्दै मन्त्री खनालले खेतीयोग्य जमिन बाँझो राखेर वर्षेनी २५ अर्वको चामल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरेर छोड्ने बताए ।
सिंचाईको लागि राज्यले लगानी नगरेसम्म कृषि उत्पादनमा वृद्धि गर्न नसकिने भन्दै मन्त्री खनालले सरकारले सिंचाईको लागि तिन तहमा योजना अघि सारेको बताए ।
तत्कालको सुविधाको लागि वर्षाको पानी संकलन, नदि तथा खोलाबाट बांध सुधार र अन्य क्षेत्रका खोलाहरुलाई डाईभर्सन गरेर भएपनि तराईको खेतीयोग्य जमिनमा प्रयाप्त सिंचाई पुर्याउने उनले दावी गरे ।
यस्तै कृषिमन्त्री खनालले वाणगंगा नगरपालिकाको भलवाड र लक्ष्मणघाटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको कार्यक्रममा पनि धान रोपेर सहभागिता जनाएका थिए ।