डाक्टर गोविन्द केसीलाई जुम्लास्थित स्थानीय प्रशासनले अनसन स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर प्रवेशमा अवरोध गरेको छ।
अनसन बस्ने तयारीसहित शनिबार दिउँसो प्रतिष्ठानतर्फ जान लागेका डाक्टर केसीलाई प्रहरीले जुम्लाको टुँडिखेलबाट पछ्याएर अघि बढ्न रोकेको थियो।
स्थानीय बासिन्दा र डाक्टर केसीसहित उनका समर्थकले प्रहरीको घेरा तोडेर अहिले जिल्ला प्रशासन कार्यालय छेउ धर्ना दिइरहेको जुम्लामा रहेका डाक्टर केसीका सहयोगी किशोर केसीले बताए।
‘हामी स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ जाँदै गर्दा प्रहरीले हामीलाई छेके’ केसीले भने, ‘प्रहरीको घेरा तोडेर हामी प्रशासन कार्यालयको गेट नजिक बसिरहेका छौं। केहीबेरमा प्रतिष्ठानभित्र जान्छौं। अनसन सुरु गर्छौं।’ डाक्टर केसीले प्रतिष्ठानभित्र नै अनसन बस्न पाउनुपर्ने भन्दै ३ सय हाराहारीमा मानिस भेला भएको उनले बताए।
‘डाक्टर केसी जसरी पनि अनसन बस्नुहुन्छ, प्रहरीको घेरा हामी तोड्छौं’ उनले भने, ‘डाक्टर केसीको पक्षमा स्थानीय बासिन्दाले साथ दिनुभएको छ। हामी जसरी पनि प्रतिष्ठानभित्र अनसन बस्ने वातावरण मिलाउँछौं भन्नुभएको छ। सकेसम्म प्रतिष्ठानभित्रबाटै अनसन बस्ने तयारीमा छौं।’
प्रहरीले डाक्टर केसीलाई प्रतिष्ठानभित्र पस्न नदिई छेकेमा स्थानीय बासिन्दाले ‘काँधमा राखेर बोकेर लैजाने’ चेतावनी दिएको उनले बताए। ‘स्थानीय बासिन्दाहरु डाक्टर केसीको पक्षमा सडकमा आउनुभएको छ’ उनले भने, ‘शान्तपूर्ण तवरले हामीहरु प्रशासन छेउ बसिरहेका छौं।’
डाक्टर केसी अनसन बस्ने भनिएको ठाउँ प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर क्षेत्रमा अनसन, धर्ना र नाराजुलुसजस्ता विरोधका कार्यक्रम गर्न नपाउने जुम्ला प्रशासनले शुक्रबार नै सूचना निकालेर जानकारी गराएको थियो।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले निषेधित क्षेत्रमा अनसन बसेमा कानूनअनुसार कारबाही हुने बताए। ‘निषेधित क्षेत्रमा अनसन बसेमा प्रहरीले त्यही किसिमको एक्सन लिन्छ’ प्रजिअ पौडेलले सेतोपाटीसँग भने, ‘निषेधित क्षेत्रबाहेक जुम्लामा अरु ठाउँ पनि छ। त्यता गएर अनसन बसे भइहाल्यो।’
आफूले शान्तिपूर्ण वातावरण चाहेको प्रजिअ पौडेलले बताए। सरकारको नीति पालना नगर्नेलाई कारबाही गर्ने उनले बताए। सेवा प्रदायक ठाउँहरुमा अनशन, धर्ना र नाराजुलुस गर्दा सेवाग्राहीले सेवा नपाउने भएकाले निषेधित क्षेत्र तोक्नुपरेको प्रजिअ पौडेलले बताए।
जुम्लामा के सुरक्षा खतरा देखियो र निधेषित क्षेत्र तोक्नुपर्यो? भन्ने प्रश्नमा प्रजिअ पौडेलले सेवा प्रदायक ठाउँमा अनसन बस्न नपाइने जवाफ दिए। जहाँ पायो त्यही विरोधका कार्यक्रम गर्न नदिने सरकारको नीति र गृह मन्त्रालयको निर्देशनमा निषेधित ठाउँ तोकिएको उनले बताए।
डाक्टर केसी जुम्ला सदरमुकाम पुगेकै दिन निषेधित क्षेत्र तोकियो नि भन्ने प्रश्नमा प्रजिअ पौडेलले पूर्व निर्धारित कार्यक्रमअनुसार नै सूचना निकालिएको दावी गरे। ‘हावा नआई पात हल्लदैन भनेजस्तै हो’ उनले भने। चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डाक्टर केसी पटक पटक अनसनमा बस्दै आएका छन्।
यसैबीच चिकित्सा क्षेत्रमा सुधार हुनुपर्नेलगायत माग गर्दै राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोधमा रहेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।