राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको ५ महिनाभित्रको गतिविधि र अभिव्यक्तिबाट आशा र आशंका दुवै पैदा भएको बताएका छन्।
आइतबारदेखि सुरू हुने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका पार्टी अध्यक्ष थापाले आफूहरूले सरकारका गतिविधिहरू नियालिरहेको बताए ।
बहुमतसहितको सरकार गठन भएको हुँदा देशमा राजनीतिक स्थिरता कायम हुने र देश आर्थिक समृद्धितिर अघि बढ्ने आशा पलाएको उनले बताए । तर, सरकारको कार्यशैली र अभिव्यक्ति हेर्दा भने आशंका पैदा भएको उनको भनाइ छ ।
वर्तमान सरकारले विरोध गर्न पाउने अधिकार कुण्ठित गर्ने, प्रतिपक्षीलाई दमन गर्नेलगायतका कार्य गरेको टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो कार्यशैलीले देशमा एकदलीय शासन व्यवस्था लागू हुन सक्ने आशंका उब्जिएको बताए ।
राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री चीन भ्रमण जाँदा केही सकारात्मक कार्य गरेको उल्लेख गर्दै धन्यवाद समेत व्यक्त गरे । ‘प्रधानमन्त्री ओली ज्यू चीन भ्रमण जाँदा केही सकारात्मक काम गर्नुभएको छ, यसमा म पार्टीका तर्फबाट स्वागतसहित धन्यवाद समेत ज्ञापन गर्दछु,’ उनले भने, ‘विगतमा गरिएका चीनसँगका सम्झौता कार्यान्वयनका लागि चीनलाई प्रतिबद्ध गराउने काम उहाँले भ्रमणका क्रममा गर्नुभयो, यो भ्रमणको एक उपलब्धिका रुपमा छ ।’
पार्टी एकीकरणको प्रसंगमा थापाले नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक संगठनको आवश्यकता भएकाले यसका लागि समान विचार भएका पार्टी एवम् संगठनहरूसँग एकताको प्रयास भैरहेको बताए । ‘राप्रपाबाट यसअघि फुटेर गएका विभिन्न संगठनहरूलाई समाहित हुनका लागि आग्रह गरिएको छ’ अध्यक्ष थापाले भने, पार्टी टुक्रिनुको परिणामा टुक्र्याएर जानेहरूले मनन गरिसक्नुभएको छ, वार्ताको प्रयास भैरहेको छ ।’
पार्टीको मुख्य एजेण्डाका रूपमा रहेको सनातन हिन्दु राष्ट्रको प्रसंग निकाल्दै अध्यक्ष थापाले तत्कालीन संसदीय दलहरूले राप्रपाको सहमतिबिना संविधानमा धर्म निरपेक्षता घुसाएको आरोप लगाए । राप्रपा जहिले पनि सनातन हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै उनले धर्मनिरपेक्षता घोषणा हुँदासम्म पनि राप्रपाले विरोध गरिरहेको बताए । २०६२/०६३ पछि जनताको अभिमतबिना धर्म निरपेक्षता जबर्जस्त लादिएको उनको भनाइ थियो । धर्म निरपेक्षताकै आधारमा अहिले डलरको आडमा लाखौंको धर्म परिवर्तन गराइएको बताउँदै थापाले यसलाई रोक्न सरकारले कदम चाल्न आग्रह समेत गरे ।