प्रदेश ४ को राजधानीको नाम राख्ने सम्बन्धमा आइतबार प्रदेश सभामा छलफल सुरू भएको छ।
प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्तावमा आजबाट छलफल भएको हो।
जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेबुल गरेका थिए। आजको बैठकमा प्रदेशको राजधानी पोखरा बनाइयो भन्ने प्रस्ताव एमाले सांसद कृष्ण बहादुर थापाले पेश गरेका थिए।
छलफलमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेश चारको राजधानी एकल प्रस्ताव आएका कारण पनि स्व:तह पोखरा राजधानी हुने बताए। उनले पोखरामा भौतिक पूर्वाधार, सुन्दर नगरी र सबैलाई पायक पर्ने ठाउँ भएका कारण पनि पोखरा राजधानीको विकल्प नरहेको बताए।
नेपाली कांग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले पोखरा ११ जिल्ला केन्द्र भएका कारण पनि राजधानी हुन उपयुक्त भएको बताए। नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले पोखरा गीत, संगीत, साहित्य, पर्यटनको राजधानी पहिले नै भइसकेको बताउँदै प्रदेश ४ को राजधानी पनि पोखरा नै उपयुक्त भएको बताए।
प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन अनुसार राजधनीको रूपमा पोखराको नाम सर्वसम्मत भएको थियो। समितिले प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रस्ताव गरेको छ।