प्रदेश ४ को नाम के राख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सहमति नजुटेपछि मंगलबार प्रदेश ४ को संसद बैठक स्थगित भएको छ।
मंगलबार प्रदेश चारको नामका बारेमा छलफल गर्ने तयारी भए पनि नेकपाबीचमा सहमति नभएपछि आजको बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको हो । कार्य व्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो । विशेष कारणवश बैठक स्थगित गरिएको भनी सूचना टाँसिएको छ ।
संसद २१ गते २ बजेका लागि बोलाइएको छ । यसका लागि अन्य दलले आफ्ना धारणा दिइसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिएन ।
नेकपाकै संसदीय बैठकमा पनि सांसदहरूको फरक मत आएपछि सहमति नभएको हो । मंगलबार पटकपटक नेकपाको संसदीय दलको बैठक बसे पनि सहमति जुट्न नसकेको सांसदहरूले बताएका छन्। केहीले गण्डकी तमुवान राख्ने प्रस्ताव अघि सारे पनि केहीले चाहिँ त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।
अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । नयाँ शक्तिले गण्डकीलाई दोस्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली कांग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।
असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्पसहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए । उनले ११ जिल्लाबाट प्रदेशको नामाकंनका विषय समितिको प्रतिवेदन अनुसार प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगराँत, तेस्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रस्ताव गरेको छ ।