सरकारले राजधानी माइतीघरलगायत विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ।
बुधबार अपरान्ह माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट एक विद्यार्थी घाइते भएको नेविसंघका महासचिव कुन्दन काफ्लेले जानकारी दिए।
प्रदर्शनकारीले माइतीघर मण्डलामा केपी ओली सरकारविरूद्ध नारावाजी गरेका थिए। प्रदर्शनमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निषेधित क्षेत्र घोषणाले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित गरेको बताएका थिए।
‘मण्डलामै भाषण गरेर ओलीजी प्रधानमन्त्री बन्ने, रोल्पामा बन्दुक पड्काउने प्रचण्डजीलाई हामीले मण्डलामै आन्दोलन गर्न बोलायौं र अहिले उहाँहरू नेतृत्वमा हुनुहुन्छ,’ पौडेलले भने, ‘हिजो राजा ज्ञानेन्द्रले माइतीघरमा प्रदर्शन गर्न नदिँदा निरंकुशता हुने अहिले ओलीजीले नियन्त्रण गर्दा कसरी लोकतन्त्र हुन्छ?’
नेताहरूको भाषणपछि पनि प्रदर्शन जारी थियो। त्यहीक्रममा प्रहरीले लाठीचार्ज गरेको हो।
लाठीचार्जबाट नेविसंघका पर्वत खड्का घाइते भएका छन्। उनको वीर अस्पताल उपचार भइरहेको छ।
'प्रहरीले हाम्रो प्रदर्शनमा हस्तक्षेप गरेर लाठीचार्ज गर्दा हाम्रा एकजना भाइ घाइते भएका छन् उनैलाई भेट्न हामी अहिले वीरअस्पताल आएका छौं,' काफ्लेले भने।
सरकारले साउन १ गतेदेखि लागु हुनेगरी माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न रोक लगाउँदै प्रदर्शन गर्न पाउने ठाउँ पनि तोकेको छ।
माइतीघरमा प्रदर्शन रोक लगाउँदा विरोधका साना स्वरहरू दबिने भन्दै सरकारी निर्णयको विरोध भइरहेको छ।