रूपन्देहीको तिलोत्तमा नगरपालिकाकाका प्रमुख वासुदेव घिमिरेले पाँँच वर्षसम्मको पारिश्रमिक विद्यार्थीलाई दिने भएका छन्।
घिमिरेले आफूले पाउने मासिक ३५ हजार रूपैया सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिने घोषणा गरेका हुन्।
मंगलबार सकिएको नगरसभामा उनले वार्षिक ४ लाख २० हजार रूपैयाँ नगरपालिकाभित्रका ४४ सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई दिने बताए। घिमिरेले पाँच वर्षमा २१ लाख रूपैयाँ पारश्रमिक पाउने छन्।
‘जनप्रतिनिधि तलबभत्ता खान र सेवासुविधा उपभोग गर्न आएका हुन् भन्ने आम बुझाइ चिर्न र सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठाइ विद्यार्थीको आकर्षण बढाउन पनि यस्तो घोषणा गरेको हुँ,’ उनले सेतोपाटीसँग भने।
प्रत्येक विद्यालयबाट सिफारिस हुने जेहेन्दार, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई दामासाहीले रकम दिइने उनले बताए। विद्यालय रहेको वडाका अध्यक्ष, प्रधानाध्यापक र व्यवस्थापन समितिले विद्यार्थीको सिफारिस गर्नेछन्।
यसवर्ष सिफारिस गरिएको विद्यार्थी पाँच वर्षसम्म कक्षा १२ उत्तिर्ण नभए उनैले छात्रवृत्ति पाउनेछन्। दुई तिन वर्षमै कक्षा १२ उत्तिर्ण हुने विद्यार्थी सिफारिस भए अर्को वर्ष अर्को विद्यार्थी छनोट गरिनेछ।