चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले सरकारले आफ्नो उपचारका लागि खटाएका चिकित्सकहरूबाट उपचार नगराउने बताएका छन्।
सरकारले आफ्नो उपचारका लागि भन्दा पनि मागहरूमा ध्यान दिनुपर्ने भन्दै अनसरत केसीले सरकारले उपचारका लागि छुट्टै चिकित्सकहरू पठाउन आवश्यक नभएको बताए ।
आफू अनसन बसेको ठाउँमा पनि विज्ञ चिकित्सहरू भएको भन्दै उनले सरकारले काठमाडौंबाट नै चिकित्सकहरू पठाएर कर्णालीका चिकित्सकहरूप्रति शंका गरेको आरोपसमेत लागाएका छन्।
सरकारले काठमाडौंस्थित वीर अस्पतालबाट चिकित्सकहरू सुवास सुवेदी र विकास थापालाई जुम्ला पठाएको छ।
केसीको अनसनमा कांग्रेसको ऐक्यबद्धता
डाक्टर गोविन्द केसीको अनसन सफल पार्न नेपाली कांग्रेसले ऐक्यबद्धता गर्ने जनाएको छ ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाली कांग्रेसका रसाइली, शाही र प्रदेश ६ का सांसद दीनबन्धु श्रेष्ठ जुम्ला पुगेका थिए ।
अनसनरत केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेका कांग्रेसका सांसदहरूले केसीले राखेका मागहरू जनताको हितमा भएकाले पार्टीले साथ दिने बताएका छन् ।
डाक्टर केसीका माग पुरा नगरे कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने सांसद प्रकाश रसाइलीले चेतावनी दिए। केसीकै मागका आधारमा गरिएका सहमतिहरूलाई वर्तमान सरकारले उल्टयाएर विधेयक ल्याउन खोजेको उनको आरोप छ ।
अर्की सांसद रंगमती शाहीले पहिले अनसनरत डाक्टर केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिने बताइन्।