नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कम्बोडिया बनाउन लागिपरेको आरोप लगाएका छन् ।
सरकारका पछिल्ला गतिविधिले संघीयता कार्यान्वयन गर्नुको साटो देशमा अस्थिरता फैलाउने र लोकतन्त्र खतरामा पार्ने संकेत गरेको पौडेलले दाबी गरे ।
प्रधानमन्त्रीको कुर्चिमा बसेकै व्यक्तिले देशमा एकता खलबलाउने प्रयास गरेको भन्दै पौडेलले सरकार अतिवादतर्फ लम्किँदै गएको कारण अब सशक्त प्रतिवाद गर्नुको विकल्प नभएको उनले बताए ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले निषेधित क्षेत्र तोकेर सरकारले विरोध गर्नेहरूको मुख थुन्ने कोसिश गरेको भन्दै कांग्रेसले निषेधित क्षेत्र तोडेरै छाड्ने उद्घोष गरे । स्वास्थ्य क्षेत्रको सुधारका लागि गोविन्द केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले निषेधित क्षेत्र किन तोक्ने, जनता सडकमा आउँदा प्रधानमन्त्रीलाइ रेल ल्याउन, ग्याँसका चुला घरघरमा पुर्याउन, पानी जहाज ल्याउन कस्ले रोक्छ र ?’ उनको प्रश्न थियो ।
नेता पौडेलले संघीयता कार्यान्वयनमा सरकार नै उदासीन रहेको आरोप लागए ।
‘यो सरकार संघीयता विरोधी छ भन्ने पुष्टि भइसकेको छ, नेपालको व्यूरोकेसी संघीयता असफल पार्न पहिलेदेखि नै उद्धत थियो, सरकारले समेत ७ प्रतिशत बजेट विनियोजन गरेर संघीयतालाई असफल पार्न खोज्नेहरूलाई साथ दियो’, उनले भने ।
नेता पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाइ विधान विपरीत चलेको भन्दै विधानलाई टेकेर अघि बढ्न सुझाव समेत दिए ।
नेपाली कांग्रेसले प्युठानबाट नयाँ अभियान थालेको बताउँदै नेता पौडेलले विगतका इतिहासलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
कांग्रेस निर्माणको योगदान गर्ने व्यक्तिहरूलाई सम्झने र एउटा अभिलेख तयार गर्ने अभियान आफूहरूले थालेको भन्दै उनले प्युठान जिल्लाबाट राजनीतिक सेनानी सम्मान अभियानको थालनी भएको बताए । यो अभियान ७७ वटै जिल्लामा अगाडि बढ्ने उनको भनाइ छ ।