नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला शनिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे।
जुलाई ९-१३ सम्म क्यानडामा हुने १७ औं विश्व संस्कृत सम्मेलनका वक्ताको रूपमा भाग लिन कोइराला त्यसतर्फ उड्ने तयारीमा थिए।
उपकुलपति कोइरालासहित सात जनाको टोलीलाई विमानस्थलमै पुगेर जयतु संस्कृतका पदाधिकारीले फूलमाला लगाएर विदाइ गर्यो।
विमानस्थलका सुरक्षाकर्मीले कोइरालासहित भ्रमण टोलीले बोकेको झोला चेकजाँच गरे। उनीहरू कोरियन एयरको बोर्डिङ पास लिने तरखरमा जुटे।
त्यहीबेला विमानस्थल प्रहरी प्रमुख डिआइजी कमल जिटीसहितको प्रहरी टोली आइपुग्यो। डिआइजी जिटीले कोइरालालाई भने- कुलपति (प्रधानमन्त्री) ज्यूले भेट्न खोज्नुभएको छ। हिँड्नुपर्यो भने।'
त्यसपछि उनलाई प्रहरीको भ्यानमा राखियो। त्यो भ्यान प्रधानमन्त्री निवास बालुवाटारतिर हुइँकियो।
बालुवाटारभित्र पुगेपछि उपकुलपति कोइरालालाई भ्यानबाट निकालियो। उनलाई ग्यारेज छेउको एक कोठामा राखियो। एक घन्टासम्म त्यहाँ बसेका कोइरालालाई न प्रधानमन्त्रीले भेटे न किन यसो गरिएको हो कसैले जानकारी दियो।
कोइरालाको टिकट भएको कोरियन एयरको जहाज उडिसकेपछि उनलाई ‘सर तपाईं अब घर जान सक्नुहुन्छ’भनेर छोडियो। त्यसपछि उनी घर हिँडे।
आइतबार सेतोपाटीसँग कुरा गर्दै उपकुलपति कोइरालाले आफूलाई मौखिक आदेशको भरमा कुनै पत्रबेगर नै प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास लगेर राखेको गुनासो गरे।
'विदेश जान विमानस्थल पुगिसकेको मलाई मौखिक आदेशमा कुनै पत्र वेगर, कुनै आरोप विना वालुवाटार ल्याइयो' उनले भने, 'कुलपतिले भेट्न खोज्नुभएको छ भनियो। कुलपतिज्यूले भेट पनि दिनुभएन।'
कोइराला व्यक्तिगत भ्रमणका लागि जान लागेका थिएनन्। उनलाई क्यानडास्थित ब्रिटिस कोलम्विया युनिभर्सिटी भ्यानकुभरमा हुने विश्व संस्कृत सम्मेलनमा वक्ताको रूपमा निम्त्याइएको थियो।
यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत फागुनमै क्यानडाले निम्तो पठाएको पत्रको जानकारी दिएको थियो।
कोइरालाकै अध्यक्षमा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले कार्यक्रममा सात जना जाने निर्णय गर्दै खर्च व्यवस्थापन गरिदिन शिक्षा मन्त्रालयमा पत्र पठायो।
'मैले ४० लाख खर्च लाग्ने पत्र शिक्षा मन्त्रालयमा पठाएको थिएँ' कोइरालाले भने, 'सचिवहरू बसेर ३५ लाख भए पुग्छ सर भने। शिक्षाले ३५ लाख दिने भनेर अर्थ मन्त्रालयलाई पत्र लेख्यो। अर्थ मन्त्रालयले निर्णय गर्न नपाउँदै कांग्रेस सरकार ढल्यो। क्याविनेटबाट निर्णय गरी १० लाख दिन सकिने भनेका रहेछन्, नपुग्ने पैसा दिने भए भनेर मैले त्यतातिर वास्ता पनि गरिनँ।'
उनले नयाँ सरकार बनेदेखि नै आफूलाई विदेश जान दिन हुन्न भन्ने गाइँगुइँ गाइँगुइँ हल्ला चलेको बताए। ‘पुष्टि हुने गरी कसैले भनेको पनि थिएन। ठिकै छ भनेँ चासो दिइनँ,’ उनले भने।
विदेश जाने दिन नजिकिएपछि उनले विदाको प्रक्रिया सुरु गरे।
सहकुलपति (शिक्षामन्त्री) मार्फत कुलपति (प्रधानमन्त्री) लाई विदाको निवेदन दिएर शिक्षा मन्त्रालयमा दर्ता गरेको उनले बताए। असार १५ गते उनले शिक्षा मन्त्रालयमा विदाको प्रक्रियाका लागि दिएको पत्र ७३३ नम्वरमा दर्ता भएको छ।
'विदाको लागि मैले दिएको फाइलउपर कुनै कारबाही नगर्ने अनि एकैचोटी विमानस्थल पुगेर अपराधीझैं प्रहरी लगाएर समात्ने?' उनले प्रश्न गरे, 'मोहनशम्शेर राणाका पालाझैं आसवारियाजस्तो छापामार शैलीमा मलाई एअरपोर्टबाट नियन्त्रणमा लिने?'
एकै प्रक्रिया अपनाएका अन्य छ जना भने गन्तव्य पुगिसकेका छन्। प्राडा काशीनाथ न्यौपाने, सहप्राध्यापकहरू गणेश घिमिरे, लेखप्रसाद निरौला, नवराज कट्टेल र उपप्राध्यापकहरू प्रेमराज न्यौपाने र केशव कोइराला क्यानडा गएका हुन्।
कार्यक्रममा जान नदिएर अपराधी जसरी विमानस्थलबाट नियन्त्रणमा लिनुमा तीन मुख्य कुरा लुकेको कोइरालाको दाबी छ।
यो घटनाले कम्युनिष्ट सरकारलाई संस्कृत शिक्षा नचाहिएको र सरकारले संस्कृत माथि आक्रमण गरेको रुपमा आफूले लिएको उनले बताए।
कांग्रेसका पालामा उपकुलपति भएकोले सरकारले कांग्रेसमाथि पनि आक्रमण गरेको उनको दाबी छ।
'यो कांग्रेसमाथिको सोझै आक्रमण हो। यसलाई कांग्रेसले कसरी लिन्छ मलाई थाहा छैन। किनभने मलाई उपकुलपति बनाएको कांग्रेसले हो। अहिले मलाई त्यही रिसले कम्युनिष्टहरूले आक्रमण गरे' उनले भने।
उनले यसलाई राजनीतिक प्रतिशोध र सर्वसत्तावादको लक्षणको रूपमा बुझेको बताए।
विदेश जान विमानस्थल पुगेका उपकुलपतिलाई किन नियन्त्रणमा लिइएको हो भन्ने प्रश्न हामीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याललाई सोध्यौं। उनले जवाफ दिनुपहिले नियम हेर्न सुझाए।
नेपाल संस्कृत विश्वविद्यालय ऐनको दफा ४, ५ र ६ भ्रमण सम्वन्धी नियम उल्लेख रहेको भन्दै उनले दफा ४ को (ज) अनुसार उपकुलपतिलाई विदेश जान रोकिएको बताए। उक्त दफामा विदेश भ्रमण गर्नुपरेमा उपकुलपतिले कूलपतिबाट पूर्वस्वीकृति लिनुपर्ने भन्ने छ।
'उपकुलपतिले विदेश भ्रमणका लागि चाहिने प्रक्रिया नै पूरा गर्नुभएन। कुलपतिबाट भ्रमण स्वीकृत नै भएको छैन, यसरी विदेश जान नियमअनुसार पाइँदैन' उनले भने, 'कुलपतिको पूर्वस्वीकृति लिएर जानुपर्ने भन्ने त ऐनमै उल्लेख छ।' उपकुलपतिले अनावश्यक राजनीतिक खेलेको उनले आरोप लगाए।
प्रक्रिया नपुर्याइ विदेश जान लागेपछि शिक्षा मन्त्रालयका सचिवले उपकुलपतिलाई स्पष्टिकरण लिन बोलाउँदा जहाज छुटेको उनले बताए। शनिबार सिंहदरबार नखुल्ने भएकाले प्रधानमन्त्री निवास बालुवाटारको सचिवालयमा उपकुलपतिलाई राखेको उनको जिकिर छ।
उपकुलपति कोइरालाको भनाइ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालको प्रष्टिकरणबाट पनि के देखिन्छ भने उपकुलपतिले विदेश भ्रमण स्वीकृतिका लागि सहकुलपति तथा शिक्षा मन्त्रीकहाँ निवेदन दिएका थिए। सो निवेदनमाथि सरकारले कुनै निर्णय गरेन। पहिले नै तय भएको विदेशको कार्यक्रमबारे जिम्मेवार पदाधिकारीले शिक्षा मन्त्रीलाई निवेदन दिएपछि उपकुलपतिको भ्रमण स्वीकृत वा अस्वीकृत गर्ने जिम्मेवारी सरकारको थियो। सरकारले उनको भ्रमण अस्वीकृत गरेको भए उनी विदेश जान पाउँदैनथे।
तर सरकारले उनको भ्रमण स्वीकृत/अस्वीकृत गर्नुको साटो विमानस्थलमा प्रहरी पठाएर उनलाई नियन्त्रणमा लियो। यसरी नियन्त्रणमा लिन प्रधानमन्त्रीको झुठो व्यहोरा प्रयोग गरियो। कुलपतिले बोलाउनु भएको छ भन्दै उनलाई प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार पुर्यायो। तर त्यहाँ न त प्रधानमन्त्रीले उनीसँग कुरा गरे न सरकारका कुनै जिम्मेवार पदाधिकारीले नै सम्पर्क गरे।
प्रहरीले एक घन्टासम्म ‘नियन्त्रण’मा राखेर छोडिदियो।
प्रधानमन्त्रीका नाममा भएको यो काम नाजायज र अशोभनीय थियो। सरकारले चाहेको भए उपकुलपतिलाई जायज प्रक्रियाबाटै रोक्न सक्थ्यो। त्यो सरकारको तजबिजको कुरा थियो।
प्रक्रिया नपुगी विदेश जान नमिल्ने पत्र उपकुलपतिलाई नथमाएर किन प्रहरी लगाएर नियन्त्रणमा लिनुभएको भन्ने प्रश्नमा सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जवाफ दिन मानेनन्।
उनले यतिमात्र भने-सहकुलपति र कुलपतिबीच के सम्बन्ध हुन्छ। कतिपय विषय कुलपतिमा गएर मकहाँ आउनुपर्छ। यसबारे अहिले कुरा नगरौं।