चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा अनसनरत डा. गोविन्द केसीको गम्भीर स्वास्थ्य अवस्थाका कारण जुनसुकै बेला आइसियुको आवश्यकता पर्न सक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
उनी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने अहिलेसम्म आइसियु कक्ष सञ्चालनमा आएको छैन।
भदौबाट मात्र आइसियु सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ।
जुम्लाको खलंगास्थित कभर्ड हलमा अनसन बसेको पाँचौं दिन डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनलाई विशेष उपचार कक्षमा राखिएको छ।
बिजुलीको समस्या रहेकाले आइसियु जडान गर्न नसकेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए।
‘बत्ती नभएर आइसियु सञ्चालन गर्न नसकेका हौं,’ उनले भने, ‘अब बत्ती जडान भयो, आवश्यक सामग्री ल्याएर भदौबाट सञ्चालनमा ल्याउँछौं।’
उपचारमा संलग्न डा. प्रवीणकुमार गिरी केसीलाई जुनसुकै बेला आइसियु चाहिन सक्ने बताउँछन्।
उनका अनुसार डा. केसीलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मांसपेसी बाउँडिने, मुटुको चाल तलमाथि हुने समस्या छ। उनको सेतो रक्तकोषिका घट्दै गएको छ। यस्तो अवस्थामा संक्रमणबाट बचाउन विशेष उपचार कक्षबाट आइसियु लैजानुपर्ने उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र तीन सय शैयाको अस्पताल पनि पर्छ। त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भैसकेको छ।
प्रतिष्ठानमा एमबिबिएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् भन्ने पनि केसीको माग हो। यहाँ हेल्थ असिस्टेन्ट (एचए), स्टाफ नर्स, स्नातक तहको नर्सिङ लगायत चारवटा कक्षा अध्यापन भइरहेका छन्।
अध्यापनका लागि कक्षा कोठा र आवासको पर्याप्त व्यवस्था नभएकाले केही समय लाग्ने रजिस्ट्रार काफ्लेले बताए। ‘हामी पहल गरिरहेका छौं,’ रजिस्ट्रार काफ्लेले भने, ‘प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ, स्वीकृत हुनेबित्तिकै काम सुरु हुन्छ।’
अबको एक/दुई दिनमै अन्य संरचनाका लागि बहुवर्षीय योजना स्वीकृत भइसक्ने र त्यसपछि काम अघि बढ्ने काफ्लेले जानकारी दिए।
जुम्लासहित कर्णाली प्रदेशका सात जिल्लामा विशेषज्ञ सेवा विस्तार गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ सय ३३ कर्मचारीको दरबन्दी छ। जबकि, दुई सय कर्मचारी मात्र कार्यरत छन्।
प्रतिष्ठानले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, सुर्खेत र डोल्पामा विशेषज्ञसहितको सेवा विस्तार गरेको छ। यो वर्षभित्र कर्णाली प्रदेशका बाँकी दैलेख, सल्यान र रुकुममा पनि सेवा विस्तार गर्ने रजिस्ट्रार काफ्लेले बताए।
अछाम, बझाङ र बाजुरा पनि प्रतिष्ठानको कार्यक्षेत्र भएकाले सकेसम्म छिट्टै ती जिल्लामा विशेषज्ञसहितको सेवा विस्तार गर्ने उनले बताए।