कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा अराजक कार्य गर्नेलाई कारबाही गर्ने बताएका छन्।
डाक्टर केसीसँगै हेलिकप्टरमा सुर्खेत आएका मुख्यमन्त्री शाहीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिसिटिभी फुटेज हेरेर अराजक कार्य गर्नेलाई कारबाही गरिने बताए।
यसअघि बिहीबार बिहान डाक्टर केसीलाई काठमाडौं ल्याउन प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बल प्रयोग गरेको थियो।
अस्पताल हाताभित्र अन्धाधुन्ध लाठीचार्ज गर्दा डाक्टर, नर्स, बिरामीका कुरूवासहित २ दर्जन बढी घाइते भएका थिए।
घटनामा एक जना प्रहरी जवान पनि घाइते भएका छन्।
प्रहरीले उनीमाथि शिशा प्रहार भएको बताएको छ। तर, मुख्यमन्त्री शाहीले भने ती सादा पोशाकका प्रहरीको छातीमा किला लागेको दाबी गरे।
यसैबीच डाक्टर गोविन्द केसीलाई बोकेर जुम्लाबाट आएको हेलिकप्टर तेल भर्न सुर्खेतमा रोकिएको छ।
सुर्खेत विमानस्थलमा अहिले तेल भर्ने काम भइरहेको छ। तेल भरिसकेपछि केहीबेरमा हेलिकप्टर काठमाडौं मुख्यमन्त्री शाहीले जानकारी दिए।
यसअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका केसीलाई काठमाडौं ल्याउन प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाही र आन्तरिक मामिला मन्त्री नरेश भण्डारी जुम्ला पुगेका थिए।