नेपाली सेनाका कर्णेल सागर थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अगाडि अश्लिल शब्द प्रयोग गरी पत्रकारहरूलाई गाली गरेका छन्।
अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लिन बिहिबार जुम्लाबाट आएको नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा अवतरण गरेपछि पत्रकारूरुले फोटो खिच्न जान खोज्दा उनले अश्लिल शब्द प्रयोग गरेका हुन्।
हेलिकप्टरबाट ओर्लिएर पत्रकारहरूसँग कुराकानी गरेपछि पत्रकारहरूकै अनुरोधमा मुख्यमन्त्री शाहीले आफ्ना प्रेस सल्लाहकार र अर्का एक जना पत्रकार गरी दुई जनालाई मात्र हेलिकप्टरभित्र रहेका डा.केसीको फोटो खिच्न जान भनेका थिए।
सोही अनुसार पत्रकार फोटो खिच्न जाने तयारीमा भएका बेला कर्णेल थापाले मुख्यमन्त्रीका अगाडि आपत्तिजनक अश्लिल शब्द प्रयोग गरेका हुन्।
उनलाई यदि फोटो खिच्न नदिन भनी निर्देशित गरेको भए पनि सामान्य तरिकाले भन्न सक्थे। तर, कर्णेल थापाले मुख्यमन्त्रीकै अगाडि अश्लिल शब्द बोलेपछि मुख्यमन्त्री समेत केही नबोली लज्जास्पद अनुहारमा उभिए।
यसरी सेनाका कर्णेलले समेत मुख्यमन्त्रीको अनुरोधलाई नै अटेर गर्ने तरिकाले मुख्यमन्त्रीकै अगाडि अश्लिल शब्द प्रयोग गर्नुले नेपाली सेनाका वरिष्ठ अधिकारी नै अनुशासनहीन रहेको बुझ्न सकिन्छ।