कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी माग्ने बताएका छन्।
राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले 'बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको' बताएका थिए। उनले 'डाक्टर पढ्न बंगलादेश जाने छोरी-चेलीबारे आज म कथा खोल्छु' भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन्।
यही सन्दर्भमा आइतबार हामीले कानुनमन्त्री तामाङसँग सोध्यौं, 'तपाईंको भनाइको आसय के हो?'
उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउन खोजेको प्रस्टीकरण दिए। सँगसँगै, भाषणमा आफूले दिएको अभिव्यक्ति गलत भएको पनि उनले बताए।
'मेरो भनाइले अरुलाई चोट परेको छ, त्यसमा मैले माफी माग्नै पर्छ,' उनले भने। केही बेरमै मन्त्रालयको तर्फबाट विज्ञप्ति निकालेर माफी माग्ने उनले जानकारी दिए।
'तपाईंले के आधारमा त्यस्तो अभिव्यक्ति दिनुभयो त?' हाम्रो यो प्रश्नमा उनले आफूले बोलेका आधार खुल्दै जाने बताए।
भने, 'सूचनाहरू हुन्। प्रतिनिधिमूलक घटनाहरु छन्, त्यसको जाँच गर्नैपर्छ। त्यसैले प्रेस विज्ञप्ति नै तयार गर्दैछु। मेरो भनाइले जसलाई चोट परेको छ, त्योप्रति माफी माग्नै पर्छ।'
उक्त स्कुलको कार्यक्रममा उनले भनेका थिए, 'बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरूले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। यस्तो अवस्थामा नेपालमै चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ। सबैले यहीँ पढ्न पाउनुपर्छ भन्दा प्लेकार्ड लिएर हामी नै बाहिर निस्कन्छौं। के गर्न खोज्या छ मुलुकलाई?'
यसअघि झापा, बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश जाने छात्रामाथि हुबहु टिप्पणी गरेका थिए। त्यसको पनि भिडियो सार्वजनिक भएको थियो।
उनले पत्रकार सम्मेलनमा 'बंगलादेशमा छात्राहरूले आफ्नो शरीर सुम्पेर मात्र डाक्टरी पास हुने' गरेको बताएका थिए।
प्रसाईंको अभिव्यक्तिमा बंगलादेश, ढाकास्थित 'वर्ल्डवाइड नेपलिज स्टुडेन्टस् अर्गनाइजेसन' ले विज्ञप्ति जारी गरी भर्त्सना गरेको थियो।
विज्ञप्तिमा 'प्रसाईंको भनाइले बंगलादेश पढ्न जाने सबै विद्यार्थी र उनीहरूका अभिभावकलाई चोट पुर्याएको छ। उनले छात्राहरूको चरित्रमै प्रश्न उठाउनु असह्य छ। यो सबै प्रसाईंले आफ्नो व्यक्तिगत स्वार्थ निम्ति भनेका हुन्। यसमा कुनै सत्यता छैन।' लगायत लेखिएको छ।
यसरी दुर्गा प्रसाईंको अभिव्यक्तिमा बंगलादेशस्थित विद्यार्थीले विज्ञप्ति जारी गर्दागर्दै कानुनमन्त्री तामाङले समेत प्रसाईंको भनाइमा तालमेल मिलाएका थिए।