प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले डा. गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको बताएका छन्।
डा. केसीले उठाएको काठमाडौंमा मेडिकल कलेज खोल्नु हुँदैन भन्ने माग मनमोहन कलेजका विरुद्ध भएको उनले बताए।
‘मनमोहन कलेज नआउँदासम्म नबोल्नेहरूले अहिले मनमोहन आयो भने काठमाडौंका अरु अस्पतालहरू चल्दैनन् भन्ने डरले सडकमा ताण्डप देखाइरहेका छन्,’ उनले भने।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा बुटवलमा आयोजित स्मृति सभामा बोल्दै मुख्यमन्त्री पोखरेल विगतमा कांग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी भएको र अहिले त्यही ठिक होइन भन्ने लागे कांग्रेसले विगतको नीति गलत थियो भनेर आत्मालोचना गर्नुपर्ने बताए।
मुख्यमन्त्री पोखरेलले नेकपाको बलियो सरकार देखेर कांग्रेस अत्तालिएको भन्दै सरकारमाथि अहिले भइरहेको चौतर्फी प्रहार काम नगरेको कारणले नभइ काम गर्न खोजेका कारण भएको बताए।
‘जब दुई वटा ठूला कम्युनिष्ट पार्टी मिले पाँच वर्षसम्म सरकार परिवर्तन नहुने सुनिश्चितता भयो त्यसपछि कांग्रेसका नेताहरूमा निद्रा हराएको छ, आजको परिघटना यसैको दृष्टान्त हो,’ उनले भने।
उनले यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदारमाथिको कारबाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटीको अन्त्य, गैर सरकारी संघ संस्था र दाताबाट आउने रकमको व्यवस्थापन लगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको बताए।
मुख्यमन्त्री पोखरेलले कांग्रेसले सरकारलाई असफल बनाउन केसीका मुद्दालाई साथ दिएको बताए।
उद्देश्य गलत भए पनि जनमानसमा डा. केसीले उठाएका माग पवित्र छन् भन्ने परिसकेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यी दुई क्षेत्रको लगानीलाई नाफारहित बनाउनुपर्ने बताए।
नेकपाका नेता समेत रहेका पोखरेलले स्वर्गीय पुष्पलालले देखाएको बाटोमा अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघि बढिरहेको दाबी गरे । उनले सरकार बनाउनुमात्र ठूलो नभइ समाज बदल्ने कुरा महत्वपूर्ण हो भन्ने पुष्पलालको भनाइलाई अहिलेको सरकारले विशेष प्राथमिकता दिएको बताए।
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका अभियानलाई हावामा उडाउने काम भएको भन्दै ३ वर्षभित्र जनताले अनुभूति गर्ने गरी यी अभियानलाई सार्थक बनाउन पार्टी संगठन र कार्यकर्तालाई विकास र समृद्धिको अभियानमा लाग्न आग्रह गरे।