प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीमाथि इजलासमा बस्दा निदाउने गरेको उजुरी परेको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशी इजलासमा निदाउने गरेकै कारण पदका लागि योग्य नरहेको उजुरी परेको हो।
संसदीय सुनुवाई समितिले जोशीका विषयमा उजुरी आह्वान गरेको थियो। समितिमा जोशीलाई प्रधानन्यायाधीश बनाउन अनुपयुक्त रहेको ५ वटा उजुरी परेका छन्।
‘उहाँ इजलासमा बस्दा निदाइरहनु हुन्छ’, उजुरीकर्ताले सुनुवाई समितिमा दिएको उजुरीमा भनेका छन्, ‘सुर्तिजन्य वस्तुको सेवन पनि गर्नुहुन्छ।'
जोशीले छोराको विवाह र छोरीको टिकाटालोमा पाँचतारे होटलमा गरेको अर्को उजुरी समेत सुनवाई समितिमा परेको छ।
ती उजुरीकर्ताले भने छोराको विवाहमा ९० लाख गर्च गरेको तथा छोरीको टिकाटालोमा २० लाख खर्च गरेको उजुरी दिएका छन्।
‘छोराको विवाहमा ९० लाख खर्च गर्नुभएको छ। छोरीको इन्गेजमेन्टमा २० लाख खर्च भएको छ। उक्त पैसा कहाँबाट आयो? निजको बैंकबाट अन्य सम्पति उक्त पैसा भुक्तानी भएको देखिदैँन। प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन’, उजुरीकर्ताले प्रश्न गरेका छन्।
छोरा प्रवीन्द्र जोशीको विवाहको खर्च भ्रष्टाचार आरोपित चुडामणि शर्मा, नारायण दाहाल, कालु गुरूङलगायतलाई भुक्तानी गर्न लगाएको आरोप लगाइएको छ।
जोशीविरुद्ध बालुवाटारमा प्रधानमन्त्री निवास र प्रधानन्यायाधीशको निवास रहेको क्षेत्रको गुठीको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको उजुरीसमेत परेको छ।
‘महाअभियोग लाग्नेसम्मका गैरकानूनी कार्य प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशीबाट भएका छन्’, उजुरीकर्ताले लिखित रूपमा दिएको उजुरीमा भनिएको छ, ‘सार्वजनिक एवंम् गुठीको सयौं रोपनी बालुवाटारको जग्गामा गुठीको स्वामित्व ध्वस्त पार्ने कार्य गरेकाले महाभियोग लगाउनुपर्नेमा प्रधानन्यायाधीश जस्तो पदमा संवैधानिक परिषदबाट सिफारिस भएको हुँदा पुनर्विचार गर्न फिर्ता गर्नुपर्छ।'
उजुरीकर्ताले जोशीलाई भ्रष्टाचारी, घुसखोरी र कालाबजारीलाई सहयोग गर्ने गरेको आरोप लगाइएको छ। भ्रष्टाचार आरोपित आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई उन्मुक्ति दिएको भन्दै जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने दलिल उजुरीकर्ताको छ।
त्यस्तै एनसेल प्रकरणमा अन्तरिम आदेशकै भरमा पूँजीगत लाभकर नेपालमा नतिर्न छुट दिएको आरोप समेत लगाइएको छ।
‘५ अर्ब रुपैयाँभन्दा बढी रकम राजश्व त प्रधानन्यायाधीश सिफारिस गरिएका दीपकराज जोशीकै अन्तरिम आदेशका कारण असुली हुन सकेको छैन’, उजुरीमा भनिएको छ, ‘मल्ल होटलको बेल्लिज क्यासिनोलाई नियमावली विपरित करोडौँ घुस खाएर अन्तिरम आदेशका भरमा सञ्चालन गर्न दिएको छ।'
अर्का उजुरीकर्ताले विशालबजारको ठेक्का लिएका साथी रवीन्द्रल श्रेष्ठको मुद्दा जोशी प्रधानन्यायाधीश भएपछि टुङ्गो लाग्ने दाबी गरेका छन्।
अदालतबाटै भ्रष्टाचार ठहर भएका श्रेष्ठले बेलाबखत जोशीलाई खर्च दिने गरेको उजुरीकर्ताले उल्लेख गरेका छन्। विशाल बजार भाडामा दिदाँ भ्रष्टाचार भएको आरोप उजुरीकर्ताले लगाएका छन्। सो मुद्दाको पेशी सार्ने काम जोशीले गरिरहेको उल्लेख छ।
रवीन्द्रलाल श्रेष्ठले विशालबजार भाडामा लगाउँदै आएको र मोटो रकम कमाइ रहेको दाबी उजुरीकर्ताले गरेका छन्। साथै विशाल बजार कम्पनी लिमिटेडको सम्पत्तिलाई ३ अर्ब ९६ करोड बराबर सेयर कायम गर्न सर्वोच्चले दिएको फैसला राकेको आरोपसमेत छ।
जोशीलाई अन्तरिम आदेशकै भरमा एनसेल, गोर्खा ब्रुअरी, सूर्य नेपाल, मल्ल होटल लगायतका कम्पनीबाट ६१ अर्ब कर असुली गर्न रोकेको आरोप उजुरीकर्ताले लगाएका छन्।
‘मातहतका न्यायमुर्तिहरूलाई समेत अनावश्यक दबाब दिँदै आरोप’ लगाउँदै उजुरीकर्ताले लगाउँदै उनलाई प्रधानन्यायाधीशका लागि अनुमोदन नगर्न आग्रह गरेका छन्।
जोशी विरुद्धको उजुरी समितिले सोमबार खोलेको हो। संसदीय सनुवाई समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि डाकेको समितिका सभापति एवम् जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए।
जोशीको सुनुवाई भने १० गते हुनेछ।