कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घाइते तथा अपांगहरूका लागि पुनर्स्थापना केन्द्र निर्माण गरिने बताएका छन्।
गम्भीर प्रकृतिका घाइते तथा अपांगहरूलाई गाँस, बास र कपासको व्यवस्थासहितको पुनर्स्थापना केन्द्र बनाउने उनले बताएका हुन्।
बुधबार राष्ट्रिय अपांग महासंघको कर्णाली प्रदेश कमिटीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाहीले अपांगहरूको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीरताका साथ लाग्ने आश्वासन दिए ।
अपांगता भएकाहरूको क्षमता र अपांगताको प्रकृति हेरेर रोजगारमुलक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री शाहीले अपांगता भएकाहरूलाई रोजगारीमा पहिलो प्राथमिकता दिइने बताए ।
प्रदेश सरकारले बनाउने अपांगतासम्बन्धी कानूनमा अपांगता भएका समुदायको अपनत्वको ग्यारेण्टी गरिने उनले बताए ।
‘तपाईंहरूलाई नसोधी, तपाईंहरूको राय नलिइ सम्बन्धित कानून बनाइने छैन,’ मुख्यमन्त्री शाहीले भने, ‘राष्ट्रिय अपांग महासंघका मागप्रति प्रदेश सरकार सकारात्मक छ, पूरा गर्नका लागि पहल गर्नेछु ।’
बुधबार महासंघको प्रदेश कमिटीले मुख्यमन्त्री शाहीसँग भेटेर ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सामाजिक सुरक्षा भत्ता १० हजार व्यवस्था गरिनुपर्ने, अपांगता भएका व्यक्तिका लागि चाहिने सहायक सामग्री प्रदेशमै उत्पादन तथा वितरणका लागि बजेट व्यवस्था गरिनुपर्ने, पूर्ण अशक्त र बौद्धिक अपांगता भएका व्यक्तिको सहयोगीका लागि बजेट व्यवस्था गरिनुपर्नेलगायतका माग ध्यानाकर्षण पत्रमा समावेश छन् ।