झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही माग गर्दै प्रतिनिधि सभा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले आइतबार संसद सचिवालयमा बिएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईंले बंगलादेशमा एमबिबिएस पढन जाने छात्राबारे दिएको अभिव्यक्तिले संविधान र कानुनको उल्लंघन गरेको भन्दै उनीमाथि कारबाही माग गरेर प्रस्ताव दर्ता गराएकी हुन्।
सांसदहरू लक्ष्मी परियार र प्रमिला राई प्रस्तावका समर्थक छन्। प्रस्तावमा प्रसाईंको अभिव्यक्तिले बंगलादेशसँगको कूटनीतिक सम्बन्धमा पनि आँच पुर्याएको उल्लेख गरिएको छ।
केही समयअघि प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्रामाथि करणी हुने गरेको बताएका थिए। उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो।
उनको अभिव्यक्तिले नेपाली छात्राको आत्मसम्मानमा चोट पुगेको भन्दै कारबाही गर्न यसअघि नै राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परिसकेको छ।
यस्तो छ प्रस्तावको पूर्ण पाठ:
नेपालको संविधानको धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट बञ्चित नगरिने प्रत्याभूति दिएको छ। यसका अतिरिक्त हाम्रो संविधानले कुनै पनि धर्म, जात, जाति, लिंग, भाषा वा क्षेत्र कुनै पनि आधारमा भेदभाव गर्न नपाइने मात्र होइन हाम्रो विद्यमान कानुनले कुनै पनि व्यक्तिलाई सार्वजनिक स्थानमा अश्लिल बोली, बचन, इशारा प्रयोगमा निषेध गरेको छ।
तर, केहि समयअघि झापास्थित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उलंघन गर्ने कार्य गर्नु भएको छ। स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्चशिक्षा हाँसिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ।
उहाँबाट सिंगो नारी जगतको अपमान गर्ने दुश्प्रयाससँगै आम स्वाभिमानी नागरिक र अविभावकको प्रतिष्ठामा समेत गम्भिर चोट पुर्याउने कार्य भएको छ। यसका अतिरिक्त उहाँले दिएको अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याएको अवस्थामा निजविरुद्ध संविधान र कानुन बमोजिम तत्काल आवश्यक कारबारी गरियोस भनि यो प्रस्तावको सुचना दिएको छु ।
छलफल गर्नु पर्नाका कारणः संविधानको धारा १८ को समानताको हक तथा धारा ३८ को महिलाको हक विपरित सार्वजनिक अभिव्यक्ति दिएर सिंगो महिला जगतको मान मर्दन गर्ने कार्यले संविधान र कानुनी शासनको धज्जी उडाउने कार्यले नेपाल र मित्रराष्ट्र बंगलादेशबीचको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याउने दुश्प्रयास भएको छ। यस्ता अमर्यादित गतिविधिलाई निश्तेज पार्न निजमाथि कानुन बमोजिम हदैसम्मको कारबाही गरी संविधान, कानुनको पालनामार्फत आम नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक भएकोले ।