स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकप्रति असन्तुष्टि दोहोर्याएका छन्।
‘कसैको पक्षमा सम्पादकहरू हुन सक्छन् तर वक्तव्य दिन्छन् जस्तो लाग्दैन,’ आइतबार पोखरामा आयोजित सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले भने ‘कुनै व्यक्तिको पक्षमा सम्पादकीय पक्ष हुन सक्छ तर वक्तव्य नै जारी गर्ने कस्तो स्वतन्त्रता हो?’
मन्त्री बाँस्कोटाले शनिबार पनि पोखरामा भएका पत्रकारसगँको अन्तरक्रिया कार्यक्रममा सम्पादकले गरेको सर्मथन आलोचना गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको दयाशंकर स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई प्रदान गर्दै उनले मिडिया आरोप कर्ता हैन आलोचक बन्नुपर्ने बताए।
मन्त्री बाँस्कोटाले अनलाइन संचारमाध्यमलाई पनि मूल पत्रकारिताको विषयभित्र ल्याउने गरी कानून बनाउने बताए।
सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश गएकोले पनि अनलाइनलाई व्यवस्थित गर्नका लागि कानूनी प्रावधान ल्याउन थालेको उनले जनाए।
‘सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश गएको छ,’ उनले भने, ‘तर, सामाजिक सञ्जाल र अनलाइन एउटै होइन।’
उनले समानुपातिक विज्ञापनसँग सम्बन्धित ऐन आउन थालेको पनि जानकारी दिए । बारम्बार पत्रकारिता क्षेत्रले उठाउँदै आएको समानुपातिक विज्ञापन नीति अन्तर्गतको विज्ञापन ऐन आउन थालेको बाँस्कोटाले बताए। उनले साना मिडियालाई पनि रक्षा गर्ने गरी ऐन ल्याउन लागेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका पत्रकार धर्मेन्द्र झालाई मन्त्री बाँस्कोटाले नगद २५ हजार, दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए।