नेपाली कांग्रेस कास्कीले आज देशैभर जस्तै पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ।
सरकारले जथाभावी कर बढाएको अधिनायकवादी बाटोमा हिँडेको आरोप लगाउदै कांग्रेसले घोषणा गरेको राष्ट्रव्यापी आन्दोलनका क्रममा पोखरामा पनि प्रदर्शन गरेको हो।
कांग्रेस कास्कीको आयोजनामा भएको प्रदर्शनमा पोखराको पृथ्वीचोकदेखि चिप्लेढुङ्गासम्म विरोध र्याली र कोण सभा गरेका थिए। सो अवसरमा कांग्रेस कार्यकर्ताले बढ्दो महँगी फिर्ता हुनुपर्ने, कर बढाउन नपाउने लगायत नारा लगाएका थिए।
कोणसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले सरकार सर्वसत्तावादतिर गएको भन्दै आफूहरू सडकमा आउनुपरेको बताए। सो अवसरमा पूर्वमन्त्री यज्ञबहादुर थापा, सांसद सूर्यबहादुर केसी, गण्डकी प्रदेशका सांसद विन्दु थापा, कांग्रेस नेतृ कोपिला रानाभाटलगायतले सम्बोधन गरेका थिए।