प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ।
सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रदर्शनमा उत्रेको नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा पनि सरकारको चर्को आलोचना गर्दै प्रदर्शन गरेको हो।
काठमाडौंको शान्तिबाटिकाबाट सुरू भएको र्यालीसहितको विरोध प्रदर्शन असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा आएर कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुँदै सत्ता छोड्न सरकार बाध्य हुनुपर्ने स्थिति आउन सक्ने बताए।
कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादी सोच नत्यागे कानूनमन्त्री शेरबहादुर तामाङले झै रुँदै सत्ता छोड्न जनताले बाध्य बनाउने चेतावनी दिए।
उनले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको सरकारले मुलुकमा अस्थिरता निम्त्याएको, समृद्धिका बाहक शक्ति आफ्नो पार्टीलाई निषेध र नियन्त्रण गर्न खाजेको भन्दै आक्रोश व्यक्त गरे।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारलाई निषेध र नियन्त्रणको राजनीति नगर्न चेतावनी दिए।
उनले ५ वर्षका लागि म्यान्डेट पाएको सरकारले ५ महिना नपुग्दै जनतालाई दिक्क बनाएको दाबी गर्दै जनताका अगाडि सरकारको सर्वसत्तावाद नटिक्ने तर्क गरे।
विरोध प्रदर्शनमा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलगायतका वक्ताहरूले पनि सरकारले एकपछि अर्को जनविरोधी कदम चालेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
नेपाली कांग्रेसले महंगी बढाउने लगायतका जनविरोधी काम गरेको भन्दै सरकारविरुद्धको प्रदर्शनलाई चर्काउँदै लगेको छ ।