मंगलबार दिउँसो बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी आफ्नो कार्यकक्षमा व्यस्त थिए। यत्तिकैमा दुई जना किशोरी सरासर प्रमुख सुवेदीको कार्यकक्षमा पुगे र भने ‘मेयरसाप हामी बुटवलको कालिका मानव ज्ञान माविबाट आएका हौं, हामीलाई १० मिनेट समय दिनुस् न।’
केही सेवाग्राही र कार्यालयकै कर्मचारीसँग छलफल गरिरहेका प्रमुख सुवेदी विद्यालयको पोशाकमै पुगेका किशोरीको आग्रहपछि कार्यकक्षबाट बाहिरिए।
त्यतिञ्जेल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यलाई पनि केही विद्यार्थीले उनको कार्यकक्षबाट बाहिर बोलाइसकेका थिए।
दुई जना कक्षा शिक्षकसँग उपमहानगरपालिका पुगेका करिब ३० जना विद्यार्थीको बीचमा घेरिएका प्रमुख सुवेदीलाई बीचबाट कसैको प्रश्न आयो ‘मेयर साप, तपाईंहरू कस्तो समाजको कल्पना गर्नुभएको छ बताइदिनुस् न ?’ उनी थिइन् कालिका मानव ज्ञान माविमा कक्षा ९ मा अध्ययनरत अभिप्सा पौडेल।
कक्षा नौमा अध्ययनरत अभिप्साको प्रश्नको जवाफ दिँदै प्रमुख सुवेदीले बुटवललाई मानवताको सुन्दर सहर बनाउने बुटवल उपमहानगरपालिकाको योजना रहेको सुनाए। प्रमुख सुवेदीले आवधिक र दीर्घकालीन योजनाहरू छनोट गर्दै समृद्ध बुटवल र सुखी बुटवलबासीको लक्ष्यका साथ आफूहरू अभियानरत रहेको बताए।
जवाफ सकिन नपाउँदै विद्यार्थीहरूले सोधिहाले, ‘तपाईंको स्थानीय नगर सरकारले योजनाहरूको छनोट तथा निर्माण कसरी गर्छ, बालबालिकाहरूका लागि के नीति बनाउनुभएको छ ?
प्रमुख सुवेदीले सबै वडाहरूमा टोल विकास संस्थाहरू रहेको र ती सबै टोल विकास संस्थाले भेला राखेर छलफल गरेपछि मात्रै योजनाहरू प्रस्ताव हुँदै आएको जवाफ दिए।
कक्षा ९ को सामाजिक शिक्षा विषयका एउटा सदनका ३० जना विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप स्वरूप विषय शिक्षकले उपमहानगरपालिका पुर्याएका थिए।
उनीहरूले नगरको खानेपानी, सडक, नदी नियन्त्रण, वातावरण संरक्षण लगायतका विभिन्न विषयमा जिज्ञासा राखे। नगर सरकारले बनाएका नीति नियमसँगै सेवाग्राहीलाई दिने सेवा, सुविधा, उनीहरूको अपेक्षा, न्यायिक समितिले गर्दै आएको न्याय सम्पादनको प्रकृया, प्रशासनिक काम, सेवाग्राहीसँगको सम्बन्धजस्ता विषयमा विद्यार्थीहरूले नगरप्रमुख सुवदीसँगै उपप्रमुख गोमादेवी आचार्यसँग पनि जिज्ञासा राखेका थिए।
विद्यार्थीहरूले प्रमुख सुवेदी र उपप्रमुख आचार्यको जवाफलाई डायरीमा टिपोट मात्र गरेनन् मोबाइल र क्यामेरामा रेकर्ड समेत गरे। अनुसन्धान तथा खोजका निम्ति विद्यार्थीको दिमाग तिखार्नु पहिलो आवश्यकता रहेको भन्दै विद्यार्थीहरूको चासो र विद्यालयको कार्यप्रति प्रमुख सुवेदीले प्रशंसा व्यक्त गरे।
चौध/पन्ध्र वर्ष उमेरका विद्यार्थीहरूमा देश, समाज र नागरिकप्रतिको चासो र उनीहरूको उन्नत चेतनास्तरले आफू नतमस्तक भएको भन्दै प्रमुख सुवेदीले विद्यार्थीहरूको यो चेतनास्तरलाई नगरको समृद्धिको एउटा आधारका रूपमा लिएको बताए।
‘शिक्षाको मुख्य उद्देश्य नै सत्चरित्रयुक्त नागरिक तयार पार्नु हो, हामीले परिकल्पना गरेको भोलिको समाजका लागि आजका बालबालिकामा हुनुपर्ने गुण यी विद्यार्थीमा छन्,’ प्रमुख सुवेदीले भने।
बालबालिकाहरूलाई शिक्षक तथा अभिभावकहरूले नैतिक नेतृत्वका बारेमा पनि सिकाउन जरुरी रहेको भन्दै प्रमुख सुवेदीले बालबालिकाहरूका लागि शिक्षा, स्वास्थ्य, मनोरञ्जन र पोषणका बारेमा समेत आफूहरूले विशेष कार्यक्रमहरू बनाइएको जानकारी गराए।
नगर सरकारको न्याय सम्पादन, प्रशासनिक काम, सेवाग्राहीसँगको सम्बन्धजस्ता विषयमा विद्यार्थीहरूले चाखपूर्वक जिज्ञासा राखेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । अनुसन्धान र चाखहरूले गुणात्मक शिक्षातर्फ डोर्याउन मद्दत मिल्ने भन्दै उपप्रमुख आचार्यले बालबालिकाहरूलाई देश र समाजका बारेमा सचेत बन्न र जानकारी लिन पनि सुझाव दिइन्।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले शिक्षाको अधिकारी स्थानीय तहमा आइसकेको अवस्थामा स्कुले विद्यार्थीलाई बुटवलको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतको विकासमा योगदान दिने खालको शिक्षाको विकास गर्नुपर्ने बताए।
शिक्षा शाखाका प्रमुख लोकराज पन्थीले आफूले चाहेको विषय पढेर त्यसैको माध्यमद्वारा समाजको सेवा गर्न सक्षम बनाउने खालको शिक्षाको खाँचो रहेको बताए।
कालिका मानविज्ञान माविले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई पनि समाजका विभिन्न क्षेत्रसँग भेटघाट तथा छलफल गराइ उनीहरूको सिकाइको स्तर सुधार गर्दै आएको जनाएको छ।
विद्यालयका कानून संकाय संयोजक युवराज कँडेलले गत वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उपमेयरसँग विद्यार्थी, वडा अध्यक्षसँग विद्यार्थी, अदालतसँग विद्यार्थी र प्रहरीसँग विद्यार्थी जस्ता एकहप्ते कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
अदालत, न्यायिक समिति र प्रहरीसँग नागरिकको सम्बन्ध, न्यायप्रति नागरिकको पहुँच, कामको प्रभाव, ढिलासुस्ती जस्ता विषयमा जानकारी लिन यस्तो कार्यक्रमले सघाउ पुर्याएको उनले बताए।
‘कानूनका विद्यार्थीहरूले अहिले सेवाग्राहीको गुनासो लिने र सम्बन्धित निकायसम्म पुर्याउने गर्दा उनीहरूको नेतृत्व क्षमता वृद्धि हुनुको साथै नागरिकका अपेक्षा समेत बुझ्न पाउँदा भोलि काममा खटिदा उनीहरूलाई सहज हुन्छ,’ उनले भने।
विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले विद्यालयमा असल शिक्षा प्रणालीको विकास गर्न यसखालको अभियान सुरू गरिएको बताए । उनले विद्यार्थीहरूका पाठ्यक्रमका अतिरिक्त देश र समाजका अरु आयामहरूका बारेमा पनि जानकारी गराउन जरुरी रहेको भन्दै अभियानलाई निरन्तरता दिइने बताए।