गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले काम गर्ने अधिकार नदिँदा काम गर्न अप्ठ्यारो परेको बताएका छन्।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरामा बुधबार शिवानन्द कुण्डको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अधिकार नहुँदा निरीह भएर बस्नु परेको बताए।
उनले पोखराका गण्डकी अस्पतालको एउटा मेसिनको लागि केन्द्रमै मुख ताक्नुपर्ने, त्यहाँबाट मान्छे आएर चेक जाँच गर्नुपर्ने, त्यही कुरा लेखेर फेरि केन्द्रमै पठाउनुपर्ने बाध्यता रहेको बताए । ‘ओहोर र दोहोर गरिराख्नु पर्ने प्रक्रिया घुमिराख्ने, मान्छे मरिराख्ने, उपचार समयमै नहुने, यस्तो समस्या छ ,’ उनले भने, ‘यसको अन्त्य गर्नुपर्छ अधिकारको कुरा पनि हेर्नुपर्छ।’
उनले पोखराका पश्चिमाञ्चल अस्पताल अवलोकन गर्न जाँदा डाइलेसिस मेसिन किन्न कति खर्च लाग्छ भन्दा १४/१५ लाख पर्ने बताइयो। १५/२० वटा मेसिन थप गरे डाइलेसिसका लागि फालाफाल हुन्छ। तर केन्द्र सरकारले गर्दैन।
‘गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहमा बाटो, अस्पताल पुर्याउने माग छ । जब पोखरामा भएको अस्पतालमै बिरामीको राम्रोसँग उपचार गर्न सकिएन भने त्यसको के अर्थ ? मानवतासँग नजोडिएको समृद्धि, समृद्धि नै होइन’, उनले भने, ‘राष्ट्र नै कमजोर भए समृद्धिको कुनै अर्थ हुँदैन।’
‘राष्ट्रिय एकता, आर्थिक विकास, मानवीयताको आधारमा अघि बढ्न सकियो भनेमात्र देश समृद्धि हुन सक्छ,’ उनले भने, मानवसँग नजोडिएको समृद्धि आफैंमा समृद्धि होइन।
पोखराका उद्योगपति सुशीलकुमार गोशलीले बुवा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा ७० लाख रुपैयाँको लागतमा आशुतोष भगवान शिवस्वरूप शिवलिंगसहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका छन्।
स्वामी शिवानन्द गोशली बाबा (विष्णुकुमार गोशली) को पुण्यस्मृतिमा मन्दिर परिसरमा शिवानन्द कुण्ड निर्माण गरेका हुन्।
पञ्च धारा, फलेचा र मध्यभागमा आशुतोष भगवान् शिवस्वरूप शिवलिंगसहितको अष्टभुजाकारको शिवस्वरूप कुण्ड निर्माण गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको हो।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी वाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए।
विन्ध्यवासिनी मन्दिर परिसर आकर्षित गर्न पार्क, लिफ्ट, पानीको फोहोरालगायत भौतिक पूर्वाधारहरू निर्माण भैरहेका छन्। विन्ध्यवासिनी मन्दिरमा आन्तरिक पर्यटकमात्र नभइ भारतीय पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दो छ।