विवेकशील साझा पार्टीले शनिबार राजधानीमा भएको कार्यक्रममा होहल्ला र नाराबाजी गर्नेहरूमाथि छानबिन गर्ने भएको छ।
विवेकशील साझाका एक नेताका अनुसार विरोधमा उत्रिएका सबै यूवा पार्टीका सदस्य हुन् या होइनन् भन्नेबारे छानबिन गरिँदैछ। नेता किशोर थापाको संयोजकत्वमा रहेको स्वायत्त अनुशासन आयोगले सत्यतथ्य छानबिन गर्ने तयारी गरेको उनले बताए।
विवेकशील साझाले प्रदेश ३ का जिल्ला संयोजक छान्न गरेको कार्यक्रम तनावपूर्ण भएको थियो। नेताहरू बोलिरहँदा हल्लाखल्ला र नाराबाजी भएपछि स्थिति थप बिग्रिन नदिन बिचैमा कार्यक्रम समापन गरियो।
पार्टी केन्द्रीय नेतृत्वले हस्तक्षेप गरी अप्रजातान्त्रिक तरिकाले जिल्ला संयोजक तोकेको भन्दै केही यूवाहरूले विरोध गरेका थिए।
प्रजातान्त्रिक तरिकाले जिल्ला संयोजकहरू चयन नगरी रातारात माथिबाट छानिएको र नेतृत्व गर्ने अवसर युवालाई नदिएर यसअघि नै असफल भइसकेकालाई दिएको उनीहरूको तर्क छ।
कार्यक्रममा पार्टी प्रवक्ता सूर्यराज आचार्यले असन्तुष्ट यूवालाई सम्झाउन खोजेका थिए। तर उनीहरूले ‘यूवा अघि सर्छ, देश अघि बढ्छ’ नारा लगाए। अरू पार्टी छाडेका तथा बदनाम भइसकेका नेतालाई पनि पार्टीमा प्रवेश गराई नेतृत्व गर्ने अवसर दिएकोमा उनीहरूको विरोध थियो।
हल्लाखल्ला र नाराबाजी भइरहेको विवादित भेलालाई सम्बोधन गरेका संयोजक रवीन्द्र मिश्रले कार्यक्रम विवादित हुँदा आफूलाई एकदमै दु:ख लागेको उल्लेख गर्दै जिल्ला संयोजकहरूलाई बधाई दिएका थिए।
विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालले विधानअनुसार नै संयोजकहरू चयन गरिएको दाबी गरे।
'भोट हालेर नेतृत्व चयन गर्न यो महाधिवेशन होइन। महाधिवेशनका बेला भोट हालेर नेतृत्व चयन गरौंला,’ पौड्यालले सेतोपाटीसँग भने, ‘विधानअनुसार महाधिवेशन नहुञ्जेल नेतृत्वले संयोजक चयन गर्न सक्छ।’
केही युवाले कार्यक्रम विथोल्न खोजेपनि कार्यक्रम सफल भएको उनले बताए।
‘केही यूवाले असन्तुष्टि राख्नुभयो तर कार्यक्रम सफल भयो,’ उनले भने।
प्रदेश ३ का १३ जिल्लामध्ये ६ जिल्ला संयोजक चयन गरेको उनले जानकारी दिए।
रसुवामा प्रेम पौडेल, काठमाडौंमा अनुपा श्रेष्ठ, ललितपुरमा उज्वलकृष्ण श्रेष्ठ, भक्तपुरमा सुरज प्रधान, नुवाकोटमा दामोदर नेपाल र चितवनमा भुपेन्द्र बस्नेत संयोजक चयन भएका छन्।