भर्खरै जनमत संग्रह सकिएको थियो। बहुदलको हारपछि कांग्रेस हतोत्साही थियो।
तर पनि बीपी कोइरालाले संघर्ष कायम राखेका थिए।
२०३८ साल अन्त्यतिर स्याङ्जा जिल्ला राङ्खोलामा कांग्रेसको आमसभा थियो। बीपी, जयप्रकाश गुप्ता, गोपालमान श्रेष्ठलगायत नेताहरू जाँदै थिए। सदरमुकाम पुगिसकेका भने थिएनन्।
एउटा घर नभएको सुनसान क्षेत्र। जहाँ कमल पंगेनी, देवी अर्याललगायत नेविसंघका नेता कार्यकर्ता पुगिसकेका थिए।
ओठमा भर्खर जुँगाको रेखी बस्दै गरेका पंगेनीहरू नेताहरूको नजरमा परे। उनीहरू बीपीलाई स्वागत र सुरक्षा दुवै दिन पुगेका थिए।
१८ वर्षका पंगेनी। राजनीतिमा होमिएको तीन वर्ष पुग्दै थियो। नेविसंघको बाक्लो सुरक्षा घेरामा बीपीको सवारी अगाडि बढ्यो।
पञ्चायत समर्थक कार्यक्रम बिफल बनाउने रणनीतिमा थिए। सोही योजना अनुसार बीपीलाई कार्यक्रमस्थलसम्म पुग्न नदिन अवरोध सिर्जना गरियो।
सदरमुकाम नपुग्दै बीपीमाथि भीरबाट ठूल्ठूला ढुंगा खसाले। त्यो घटनाका प्रत्यक्षदर्शी जयप्रसाद प्रकाश गुप्ता सम्झिन्छन्, ‘बीपीलाई आक्रमणबाट जोगिन हम्मे परेको थियो। घटनामा चार दर्जन बढी कार्यकर्ता घाइते भएका थिए।’
गुप्ताका अनुसार बीपीलाई जोगाउने त्यो मोर्चाका ‘कमाण्डरहरू'मध्ये पंगेनी एक हुन्। ज्यान पर्वाह नगरी बीपीको भ्रमण सफल बनाउन उनी पुगेका थिए।
बीपी सदरमुकाम त पुगे। तर, स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको थियो। प्रहरीले बीपीलाई ‘सुरक्षा’को कारण देखाउँदै समात्यो। पंगेनी, अर्यालहरूलाई पनि पक्रियो।
‘प्रजातन्त्र प्राप्तिको लडाइँका बखत भएको यो घटना मेरो मानसपटलमा अहिले पनि ताजै छ,’ स्याङ्जा–काठमाडौं सम्पर्क समिति अध्यक्ष देवी अर्याल भन्छन्, ‘बिर्सिन नसक्ने त्यो इतिहासका योद्धा हुनुहुन्थ्यो कमल।’
प्रजातन्त्र प्राप्तिको संघर्षको क्रममै २०३९ सालला बीपीको देहावसान भयो।
बीपीको देशदौडाहको क्रम गिरिजा प्रसादले सम्हाले।
रुपन्देही भ्रमणका बखत गिरिजा प्रसादमाथि पनि आक्रमण भयो।
२०३९ सालमा रुपन्देहीको सुरजपुरामा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, शैलजा आचार्य, जेपीलगायत नेता गएका थिए।
कार्यकर्ता पुष्पानन्द गिरीको घरमा छलफल चलिरहेको थियो। त्यहीबेला पञ्चायत पक्षधर दीपक बोहोरा, निरञ्जन थापाहरूको समूहले आक्रमण गर्यो।
घटनामा कांग्रेस कार्यकर्ता यादवनाथ आलोक मारिए। उक्त घटनामा गिरिजालगायत नेतालाई सुरक्षा गर्ने पंक्तिमा पंगेनी पनि थिए।
‘त्यसपछि गण्डकी, लुम्बिनी लगायत दर्जनौं भ्रमणमा पंगेनी हामीसँगै हुन्थे,’ गुप्ता भन्छन्। राम्रोसँग बोल्ने। हँसिलो र निडर। चम्किलो अनुहार। नेता बन्ने ‘गुण’ बोकेको त्यस्तो नेताको अचानक निधनको खबरले आफू स्तब्ध भएको गुप्ताले बताए।
स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसको प्रभाव क्षेत्र हो। २०७० सालमा पंगेनी प्रत्यक्ष निर्वाचित भए। २०७४ सालको संघीय संसद चुनावमा भने पंगेनी उठेनन्। नेता गोपालमान श्रेष्ठ आफैं उठ्ने भएपछि पंगेनी प्रदेश सभा निर्वाचनमा उठे। तर, श्रेष्ठ, पंगेनी दुवैले हारे।
२०२० सालमा जन्मेका पंगेनी २०३५ देखि नेविसंघबाट कांग्रेस राजनीतिमा आए। प्रजातन्त्रका लागि लडे। लोकतन्त्रका लागि लडेर राजनीतिमा भविष्य बनाउँदै गरेका पंगेनीको आइतबार बिहान निधन भयो।
पारिवारिक स्रोतका अनुसार पंगेनी शनिबार पार्टी कार्यक्रमको सिलसिलामा मिर्मी पुगेका थिए। अबेर सुतेका पंगेनी आइतबार बिहान अचेत अवस्थामा फेला परेका थिए। कालिका सामुदायिक अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको थियो।