कर्णाली प्रदेशका सांसदहरूले जाजरकोटमा भएको पहिरोको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबारको बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसदहरूले जाजरकोटमा आइतबार बिहान पहिरोमा परी ९ जनाको मृत्यु भएको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।
जाजरकोटका सांसद गणेशप्रसाद सिंहले जाजरकोटको भेरी नगरपालिकाको वडा नं. ४ स्थित ठाँटी बजारमा पहिरो जाँदा गएको घटनाप्रति सरकार उदासिन रहेको आरोप लगाउँदै सरकारले उद्दारमा सहयोग नगरेको बताए। अझै पनि सदरमुकामका ७० घर पहिरोको उच्च जोखिममा रहेकोले ती बस्तीलाई सुरक्षित स्थानमा सार्न पहल गर्न सरकारसँग उनले माग गरे। सांसद सिंहले सरकारले मृतकहरूको अन्तिम संस्कार गर्न किरिया खर्च उपलब्ध गराउनुपर्ने र घाइतेको उपचारमा सहयोग गर्नुपर्ने माग गरे।
अर्का सांसद कृष्णा शाहले उक्त घटनाले जाजरकोट पूरै शोकमग्न भएको बताउँदै सरकार त्यसको दर्शक मात्रै बनेर बसेको आरोप लगाइन्।
‘यदि सरकारको रवैया हुने हो भने जनताको लागि अभिभावकीय भूमिका कसले निर्वाह गर्ने?’ सांसद शाहले भनिन्, ‘यसमा तत्काल सरकारले राहतको व्यवस्था गरोस्, अनि सरकार भएको पीडित जनताले महसुश गर्नेछन्।’
सांसद कौशिलावती खत्रीले सरकारले जाजरकोटलगायत अन्य क्षेत्रमा पीडित बनेका जनताको उपचार, राहत एवम् उद्दारमा ध्यान दिन नसकेको आरोप लगाएकी छन्। आइतबार भएको घटनाका पीडितहरूलाई सरकारले तत्काल आवश्यक सहयोग गर्नुपर्ने माग गरिन्।
जाजरकोटको सदरमुकाम खलंगा नजिक आइतबार बिहान ८ बजे पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी ८ जना बालबालिका र १ महिलासहित ९ जनाको मृत्यु भएको छ।
पहिरोले तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ।
मृत्यु हुनेहरूमा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक रहेको प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।
मृतक सितला बोहराका ३१ वर्षीय पति लालबहादुर बोहराको भने घाइते अवस्थामा उद्दार गरिएको छ।