नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ।
दुई वर्षे कार्यकाल भदौ २ गतेबाट सकिने भएकोले महाधिवेशन गर्ने तयारीमा जुटेको नेविसंघका सभापति नैनसिंह महरले बताए।
'मंसिरमा महाधिवेशन गर्ने तयारी छ' सभापति महरले सेतोपाटीसँग भने, 'पदाधिकारीको बैठक र केन्द्रीय समिति बैठक गरी छिट्टै मिति र स्थान तय गर्छौं।'
नेविसंघ वर्तमान कार्यसमितिको कार्यकाल बुधबार सकिए पनि भदौ २ सम्म यही कार्यसमितिलाई नै निरन्तरता दिने समझदारी जुटेको छ। नेविसंघ महाधिवेशनको वातावरण बनाउन पार्टी कार्यालयमा बुधबार निर्देशन समितिको बैठक बसेको थियो।
कार्यकाल सकिएपछि पनि ३ महिना समय थप गर्न सकिने नेविसंघ विधानमा उल्लेख छ। भदौ २ मा कार्यकाल सकिएपछि ३ महिनाभित्र नेविसंघले महाधिवेशन गरिसक्नुपर्नेछ।
'विधानले दिएकै समयभित्रै महाधिवेशन भइसक्छ। महाधिवेशन गर्न सबै साथीहरू सकारात्मक हुनुहुन्छ' सभापति महरले सेतोपाटीसँग भने।
निर्वाचित पदाधिकारीले सपथ खाएको दिनदेखि हिसाब गर्दा भदौ २ सम्म कार्यकाल रहने देखिएको केन्द्रीय सदस्य सुशील भट्टले बताए।
'उम्मेद्वारी दिएको दिन होइन, सपथ खाएको दिनदेखि कार्यकाल सुरू हुने हामीबीचमा समझदारी छ' उनले भने। विधानअनुसार नै महाधिवेशन गर्नेबारे सभापति महरसँग छलफल भइरहेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए।
'हुकुमी शैलीमा होइन, सभापतिले विधानअनुसार नै महाधिवेशन गर्नुहुन्छ भन्ने विश्वास छ। विधान मिच्न दिन्नौं' उनले सेतोपाटीसँग भने।
यसअघि सभापति महर र महामन्त्री काफ्लेले छुट्टाछुट्टै भेला गरी १२ औं महाधिवेशन तय गरेका थिए। सभापति महरका विरुद्धमा १ वर्षदेखि महामन्त्री काफ्ले समूहले समानान्तर गतिविधि गरिरहेको छ। सभापति महरले विधानविपरीत आमन्त्रित सदस्य तथा जिल्ला सभापतिहरू तोकेको काफ्ले समूहले आरोप लगाउने गरेको छ भने विधान अनुसार नै काम गर्दै आएको दाबी महरले गरेका छन्।
दुई समूहबीच हुने फरक मतले गर्दा नेविसंघको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकेको छैन। नेविसंघमा पार्टी नेतृत्वकै जस्तो गुटगुटमा प्रभाव छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला गुटको प्रभाव भातृ संगठनमा देखिँदा संगठन चुस्त हुन नसकेको आरोप लाग्ने गरेको छ।
नेविसंघलाई महाधिवेशन तयारी गर्न कांग्रेसले निर्देशन दिइसकेको छ।
'३ महिनामा महाधिवेशन गर्ने कार्ययोजना भदौ २ गतेभित्र पेश गर्न निर्देशन दिएको हो' कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने।
नेविसंघ पनि संघीय ढाँचाअनुसार अघि बढ्न सकेको छैन। मंसिरमा हुने महाधिवेशन संघीय संरचनाअनुसार कै संगठन संरचना हुने गरी गर्न लागिएको नेविसंघले जनाएको छ।