भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल लगायतले जोरपाटी साँखु सडकखण्डको निरीक्षण गरेका छन्।
बिहिबार बिहान उनीहरूसहित प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिव, सडक विभागका प्रमुख र ठेकेदार निरीक्षणमा पुगेका हुन्।
निरीक्षणको क्रममा मन्त्री महासेठले १२ गतेपछि सबै खाल्डाखुल्डी पुरिने आश्वासन दिए।
‘१२ गतेसम्म सडक पिच त हुँदैन तर सर्वसाधारणको सहजीकरणको लागि वेस राखेर राम्रो सडक बनाइदिन्छौं। १२ गतेभित्र सबै खाल्डाखुल्डी पुर्नेछौं’, उनले भने।
बौद्ध–जोरपाटी–साँखु सडकखण्डको मर्मत सम्भारमा ढिलाइ हुँदा काम सुरू भएको करिब दुई वर्ष हुँदा समेत निर्माण काम पुरा हुन नसक्दा स्थानीय ठूलो मारमा परेका छन्।
निरीक्षणमा पुगेका मन्त्री महासेठ र नेता नेपालले काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै उनीहरूले काममा ढिलाइ भए कारबाही गर्ने चेतावनी समेत दिए।
निर्माणको जिम्मा पाएका ठेकेदारले भने अबको १५ दिनमा सबै खाल्डाखुल्डी पुरिने बाचा गरे।
नेता नेपालले भने सडक निर्माणमा सम्बन्धित मातहतका निकायसँग समन्वयन गरी काम गर्न सुझाए।
‘सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ।’