तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न विशेष समिति गठन गरिएको छ।
दोस्रो अधिवेशन अन्तरगत बिहिबार बसेको अन्तिम प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नाम सिफारिसको लागि १५ सदस्यीय विशेष समिति गठन गरिएको हो।
गठित विशेष समितिले ३ महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्नुपर्ने छ। प्रदेशसभा सदस्यहरू कल्पना पाण्डे, चेतनारायण आचार्य, तारा जिसी तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दीपेन्द्र कुमार पुन, दीपेश थारु, नारायण प्रसाद आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, रमा अर्याल, वीर बहादुर राना, विष्णुप्रसाद पन्थी, सरस्वती गौतम र सहर्षराम यादव समितिको सदस्य रहेका छन्।
समितिका सदस्यहरूमा १० जना लुम्बिनी अञ्चलका सांसद रहेका छन्। त्यस्तै, बिहिबारको बैठकले ११ सदस्यीय विशेषाधिकार समिति पनि गठन गरेको छ।
विशेषाधिकार समितिमा अमर बहादुर डांगी, अष्टभुजा पाठक, कमलराज श्रेष्ठ, कल्पना पाण्डे, तारा जिसी, पार्वती पुन, तेज बहादुर वली, फकरुद्धिन खाँन, बाबुराम गौतम, सन्तोष कुमार पाण्डे र हरि प्रसाद रिजाल रहेका छन्।
अहिले पनि जारी प्रदेशसभा बैठकमा विशेष समयमा प्रदेशसभाका सदस्यहरूले धारणा राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
प्रदेश सभाको दोस्रो अधिवेशन बिहिबारदेखि अन्त्य हुँदैछ।