रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन बारे मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रबार भेट गरी छलफल गरेको छ।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताए।
उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले सम्भाव्यता अध्ययन, डिपीआर र निर्माणबारे छलफल गरी अघि बढ्न सकिने बताए। साथै उनले मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर निर्माण लगायतका विषयमा लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे।
मुख्यमन्त्रीसँगको भेटमा चाईना रेलवे इन्टरनेशनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाईना रेलवे इन्टरनेशनल ग्रुप अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तुति गरेको थियो ।
चाइना ओभरसिज ग्रुपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए।
छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तिर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरुको सहभागीता थियो।