प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पौने २ घण्टा छलफल भएको छ।
१५ औं आमरण अनशन तोडेका बेला सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्री ओलीलाई भेटेरै ध्यानाकर्षण गराएका हुन्।
‘सम्झौता तोडमोड वा कार्यान्वयन नगरेमा १६ औं अनशन बस्छु’ प्रधानमन्त्रीसँगको छलफलमा डाक्टर केसीले भने, ‘सम्झौता हुबहु संसदबाट पारित गर्नुपर्छ।’
जवाफमा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
‘सम्झौता हुबहु संसदबाट पारित गर्छु’ छलफलमा सहभागी डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सेतोपाटीसँग भने, ‘अनशन बसिराख्नु पर्दैन।’
डाक्टर केसीलाई साउन १० गते अनशन तोडाउने बेला सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्नेजस्ता ९ बुँदामा सम्झौता गरेको थियो। त्यही सम्झौता छिटो कार्यान्वयन गर्न डाक्टर केसीले माग गरेका हुन्।
अनशन तोडेको १६ दिन भइसक्दा पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
डाक्टर केसीसँग गरेका सम्झौता हल गर्न कार्यदल नै बनाउने सरकारले बताए पनि अझै काम सुरु गरेको छैन।
डाक्टर केसीले प्रधानमन्त्रीसँग सम्झौता कार्यान्वयनमा किन ढिलाइ? भन्ने जिज्ञासा राखेपछि जवाफमा प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गर्ने प्रतिवद्धता जनाएको सिंहले जानकारी दिए।
'डाक्टर केसीसँग सरकारले गरेका सम्झौता हल गर्न अहिलेसम्म भएका प्रगतिबारे प्रधानमन्त्रीले आज अपरान्ह ३ बजेपछि शिक्षामन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो' सिंहले सेतोपाटीसँग भने।
माग पूरा नभए फेरि अनशन बस्ने डाक्टर केसीले दोहोर्याएपछि प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा सुधारका लागि नेतृत्व लिन केसीलाई आग्रह गरेका थिए। नेतृत्व लिनका लागि आफू अनशन बसेको नभई चिकित्सा शिक्षामा थिति बसाल्नु आफ्नो माग रहेको डाक्टर केसीले बताए।
सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा लगिसकेको छ। उक्त विधेयक पनि संशोधन गर्नु पर्ने डाक्टर केसीले बताउँदै आएका छन्।